काभ्रेपलाञ्चोक, १२ भदौः बनेपास्थित गोसाइँस्थानलगायत काभ्रेपलाञ्चोकको विभिन्न देवस्थलमा श्रावण शुक्लपूर्णिमाको दिन अर्थात् जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा आज मेला आयोजना गरिएको छ । महत्त्वपूर्ण धार्मिकस्थल मानिएको रसुवाको गोसाइँकुण्ड तीर्थाटनसँग जोडिएको बनेपामा रहेको गोसाइँस्थानमा भने हजारौँ दर्शनार्थीले मेला भरेका छन् ।
आज बिहानैदेखि मेला भर्ने भक्तजनको घुइँचो लागेको थियो । गोसाइँकुण्डसँगको महत्व जोडिएकाले पनि गोसाइँस्थानलाई धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण स्थलका रूपमा लिँदै सयौँ वर्षदेखि यहाँ मेला लाग्ने गरेको बनेपा नगरपालिका-६ का वडाध्यक्ष सचितानन्द केसीले बताउनुभयो । उहाँका अनुसार रसुवाको गोसाइँकुण्ड पुग्न नसक्नेले बनेपाको गोसाइँस्थानमा गएर दर्शन गर्ने प्रचलन रहँदै आएको छ ।
“गोसाइँकुण्ड पुग्न नसक्नेले गोसाइँस्थानमा आएर दर्शन गरी स्नान गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ”, स्थानीय भैरव केसीले भन्नुभयो । गोसाइँस्थानमा काभ्रेपलाञ्चोकसहित छिमेकी जिल्लाबाट पनि मेला भर्न भक्तजन आउने गरेकाले अघिल्लो दिनदेखि जात्राको तयारी गरिँदै आइएको उहाँले बताउनुभयो ।
विशेषगरी आज बिहान २ः०० बजेदेखि यहाँ भक्तजनको ठूलो भीड लागेको स्थानीय जयराज बजगाईँले बताउनुभयो । बनेपा-६ स्थित यस गोसाइँस्थानमा बर्सेनि जनैधारण गर्ने, कुण्डमा जलार्पण, शिव मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्ने दर्शनार्थीको साँझसम्मै भीड लाग्ने उहाँको भनाइ छ ।
उक्त स्थानमा हिन्दू र बोनधर्म परम्पराअनुसार पूजा र दर्शन गर्ने गरिन्छ । हिन्दू धर्मसंस्कारअनुसार यहाँ रहेको शिव मन्दिरमा पूजा गर्ने र ब्राह्मणबाट रक्षाबन्धन र टीका लगाइन्छ । यस्तै तामाङ समुदायका मानिस तथा ‘झाँक्री’हरू ढ्याङग्रो बजाउँदै विभिन्न तरिकाले पूजा र दर्शन गरिरहेका छन् ।
नेवार समुदायले अन्तपात चढाउने, ब्राम्हण समुदायले जनै लगाउने र हातमा रक्षाबन्धन (डोरो) बान्ने प्रचलन पनि रहिआएको स्थानीय बताउँछन् । जात्रामा महिला र पुरुषबीचमा तामाङ दोहोरी गीत गाएर आफ्ना मनका भावना साटासाट गरेर रमाइलो गर्ने प्रचलनसमेत रहँदै आएको गोसाइँस्थान संरक्षण समितिका अध्यक्ष भेषराज शाहले जानकारी दिनुभयो ।
गोसाइँकुण्डमा स्नान गरी पूजाआराधना तथा कुण्डको जलाशयमा फूलप्रसाद चढाउँदा सम्पूर्ण देवदेवताको दर्शन मिल्न गई आफ्नो मनोकाङ्क्षा पूरा हुने धार्मिक मान्यताअनुरूप यहाँ भक्तजन आउने गरेका उहाँले बताउनुभयो ।
काभ्रेपलाञ्चोकको पुरानो एवं मध्यपहाडी क्षेत्रको मुख्य बजार बनेपाबाट उत्तर-पूर्वीतर्फ हरियाली भएर उभिएको गोसाइँस्थान डाँडा धार्मिक र पर्यापर्यटनको दृष्टिकोणले प्रसिद्ध ठाउँ हो ।
साथै जिल्लाको तेमाल नारायण्स्थान, मण्डनदेउपुरको नगरकोटस्थित महादेव पोखरीलगायत क्षेत्रमा जनैपूर्णिमाको अवसरमा आज भक्तजनको चहलपहल देखिन्थ्यो । तेमाल क्षेत्रमा जनैपूर्णिमाका अवसरमा धार्मिक अनुष्ठान तथा परम्परागत जात्रा आयोजना पनि गरिएको छ ।