भदौ १२, २०८३ शुक्रबार

नारायणगढ (चितवन), १२ भदौः भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि भरतपुर महानगरपालिकाले रु एक करोड एक लाख सहयोग गर्ने भएको छ । 

    महानगरको आज बसेको बैठकले बाढी प्रभावितका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको महानगरका उपसचिव शेषकान्त पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय सरकारको निर्णयअनुसार महानगरपालिकामा कार्यरत सरकारी कर्मचारीको तलब कटौतीबाट रु ५३ लाख ६८ हजार राहत कोषमा जम्मा हुनेछ । त्यसका अतिरिक्त महानगरका जनप्रतिनिधिले १० दिनबराबरको सेवासुविधा गरी रु एक करोड एक लाख रकम राहतमा उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।

    महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएकाले प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग गर्न महानगरले निर्णय गरेको बताउनुभयो ।

    यसैबीच, रत्ननगर नगरपालिकाले पनि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु ३२ लाख सहयोग गर्ने निर्णय गरेको छ । नगरप्रमुख प्रह्लाद सापकोटाले आफ्नो तीन महिनाको सेवासुविधाबापत रु ९९ हजार राहत कोषमा जम्मा गरिसक्नुभएको जानकारी दिनुभयो ।

    नगरपालिकाका कर्मचारी तथा शिक्षकबाट सामूहिक रूपमा रु २५ लाख सङ्कलन गरिने र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट बाँकी रकम सहयोग गरिने नगरप्रमुख सापकोटाले जानकारी दिनुभयो । 

    त्यसैगरी, कालिका नगरपालिकाले बाढी प्रभावितको उद्धार तथा व्यवस्थापनका लागि एम्बुलेन्स र शववाहन निःशुल्क उपलब्ध गराउने निर्णय गरिएको जनाएको छ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि प्रभावितको राहत तथा पुनःस्थापनाका लागि स्थानीय तह, विभिन्न सङ्घसंस्था र नागरिकस्तरबाट राहत कोषमा सहयोग जुटाउने क्रम जारी छ ।