काठमाडौँ, १८ भदौः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको आजको बैठकले विपद् व्यवस्थापनमा तीन तहका सरकारबीचको समन्वय अघि बढाउन जोड दिएको छ ।
रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा आज बसेको बैठकले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछिको अवस्थामा उद्धार, राहत र पुनःस्थापनाका काममा तीन तहका सरकारको समन्वय र सबैको साझा प्रयासमा जोड दिएको हो ।
पार्टीका सभापति रवि लामिछानेको सभापतित्वमा बसेको बैठकले विपद् प्रभावित नागरिकको जीवनरक्षा, तत्काल राहत र सुरक्षित पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने निष्कर्ष निकालेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।
त्यसैगरी, बैठकले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतका काममा पार्टीका नेता तथा कार्यकर्तालाई थप सक्रिय बनाउने निर्णय गरेको छ । विपद्का कारण प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय गर्ने निर्णय पनि गरिएको जनाइएको छ ।
बैठकले पछिल्लो विपद्को अवस्थाको समीक्षा गर्दै भविष्यमा यस्ता प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ । रास्वपाले विपद् व्यवस्थापनलाई कुनै एक दल वा सरकारको मात्र जिम्मेवारीका रूपमा नहेरी राष्ट्रिय दायित्वका रूपमा लिनुपर्ने निष्कर्ष निकालेको छ ।
बैठकले सरकार, राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सबै पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ । यसैबीच, रास्वपका सभापति लामिछानेसमक्ष प्रवक्ता खरेललाई उक्त पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।