रेणुु त्वानाबासु
ख्वप (भक्तपुर), ३० भदौ : नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न छ, त्यति नै खानपान र खाने शैलीले पनि परिचित छ । नेवार समुदायमा हरेक महिनाजसो कुनै न कुनै अवसरमा भोज हुने गर्दछ । यसलाई नेपाल भाषामा सुकु भ्वय अर्थात सुकुल भोज भनिन्छ । तर पछिल्लो समय सामूहिक रूपमा सुकुलमा बसेर खाने यो परम्परागत भोज विस्तारै हराउँदै गएको छ ।
सुकुल भोज विस्तारै मृत्यु सस्कार र गुठीको भोजमा मात्र सीमिति भएको देखिन्छ । अन्य शुभकार्य जस्तै ब्रतबन्ध, बेलविवाह, गुफा, पास्नी, विबाहलगायतका भोज अधिकांश भोज पार्टी प्यालेस तथा आधुनिक सभाहलमा आयोजना हुन थालेका छन् । सुकुलको स्थानमा अहिले कुर्सी र टेबलले लिन थालेका छन् । संस्कृति अध्ययनकर्ता गणेश रञ्जितकार बदलिँदो जीवनशैली, बढ्दो व्यस्तता र आधुनिक पहिरनका कारण सुकुल भोजको प्रचलन घट्दै गएको बताउनुुहुन्छ । सुकुल भोजमा लामो समयसम्म बसेर क्रमशः परिकार खानुपर्ने भएकाले अहिलेको व्यस्त जीवनशैलीसँग यसको तालमेल नमिलेको उहाँ बताउनुहुन्छ ।
सुकुल भोजमा लामो समय पलेंटी कसेर बस्नुपर्ने भएकाले आधुनिक पहिरन पनि यसको प्रचलन घट्नुको एउटा कारण बनेको उहाँको बुझाइ छ । ‘वानपिस’, स्कर्ट, गाउन, पाइन्ट, हाफ पाइन्ट तथा लेहेंगालगायतका पहिरनमा सुकुलमा लामो समय बस्न सहज नहुने भएकाले नयाँ पुस्ता आधुनिक भोजतर्फ आकर्षित भएको उहाँ बताउनुहुन्छ । नेवार समुदायका मानिस यो भोजमा खुबै रमाउँथे । सबै जना मिलेर रमाइलो गर्दै भोज खान्छन् र खुवाउँछन् पनि”, भक्तपुर थिमीकी सुमित्रा श्रेष्ठको अनुमान छ, “हिजोआज मानिसको बेफुर्सदी बढेको छ । यो भोज तुलनात्मक रूपमा खान लामो समय लाग्छ, त्यसकारण फेज आउट भएको होला ।”
बदलिँदो जीवनशैलीसँगै मानिसको दैनिक व्यस्तता बढेको छ । परिवारका सदस्य तथा आफन्तसँग लामो समय बसेर भोज खाने समय निकाल्न कठिन हुन थालेपछि परम्परागत सुकुल भोजको अभ्यास पनि घट्दै गएको उहाँको पनि उही बुझाइ छ । सुकुल भोज हराउनुका एक होइन, अनेक कारण देखिन्छ । समय धेरै लाग्ने, पलेँटी कसेर बस्नुपर्ने भएकाले फरकफरक पोशाकमा बस्न नमिल्ने, आफूलाई मन परेको परिकार मात्रै लिएर खान नमिल्ने तथा साथीभाइसँंग गफ गरेर खान नमिल्ने जस्त विभिन्न कारणले सुकुल भोज विस्तारै अलोकप्रिय बन्दै गएको अनुमान छ । सुकुल भोजमा परालबाट बनेको सुकुलमा लहरै बसेर विभिन्न परिकार खाने गरिन्छ । परिवारका सदस्य, आफन्त तथा नातेदारको जमघट गराउनु र आपसी आत्मीयता बढाउनु भोजको मुख्य उद्देश्य हुने गर्दछ ।
सीमित भएकै हो त सुकुल भोज ?
संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार सुकुल भोज अहिले मृत्यु संस्कार र गुठी भोजमा मात्र सीमित हुँदै गएको छ । उहाँका अनुसार पहिले नेवार समुदायका विभिन्न चाडपर्व, जात्रा तथा सामाजिक संस्कारमा सुकुल भोजको व्यापक प्रचलन रहे पनि पछिल्लो समय यसको प्रयोग निकै साँघुरिएको छ ।
सुकुल भोज अहिले नेवार समुुदायको मृत्यु संस्कार जुन न्हेनुुमा (७ दिनमा), लत्या (४५ दिनमा), खुल्हा (६ महिनामा), दाकिला (एकवर्षमा) र वर्षेपिच्छे हुने मृत्युु संस्कारको बेलामा मात्र सुुकुल भोज खाएको देखिन्छ । यसमा नयाँ पुस्ता खासै समावेश भएको हुँदैन । मृत्यु संस्कारमा खुशीयाली रमझम गर्न नहुने, यस्ता भोज औपचारिकताका लागि मात्रै हुने, युवा पुस्ता सहभागी नहुनेलगायतका कारण अहिले सकुल भोजको लोकप्रियता विस्तारै कम भएको देखिन्छ । नेवार समुदायमा भोज केवल खानपानको विषय मात्र होइन, यसले सामाजिक सम्बन्ध, सामूहिकता, आपसी सहयोग र सांस्कृतिक पहिचानलाई समेत जोड्ने हुँदा सुकुल भोज हराउँदै जानु भनेको एउटा खाने शैली हराउनु मात्र नभई त्यससँग जोडिएका सामाजिक तथा सांस्कृतिक अभ्यास कमजोर हुनु पनि हो ।
संस्कृतिप्रेमी सत्यराम सुवालका अनुसार यस्ता परम्परालाई जीवित राख्न नयाँ पुस्ताको सहभागिता आवश्यक छ । परम्परात पुस्ताले नयाँं पुस्तालाई हस्तान्तरण गरे मात्र जीवित रहन्छ, नयाँ पुस्तालाई सुकुल भोजको महत्व बुझाएर व्यवहारमै सहभागी गराउनुपर्छ,” सुवालको भनाइ छ । सुकुल भोजलाई नेवार समुदायको महत्वपूर्ण मौलिक परम्पराका रूपमा संरक्षण गर्नुपर्ने बताउनुहुन्छ उहाँं । उहाँका अनुसार आधुनिक जीवनशैली र नयाँ पुस्ताको बदलिँदो रुचिका कारण यस्ता परम्परागत अभ्यास विस्तारै ओझेलमा पर्दै गएका छन् ।
परम्परागत संस्कृतिको संरक्षण गर्नु भनेको केवल सुकुलमा बसेर खाना खाने शैली जोगाउनु मात्र नभई त्यससँग जोडिएको सामूहिकता, आपसी आत्मीयता, परम्परागत ज्ञान र सांस्कृतिक पहिचानलाई समेत संरक्षण गर्नु हो । त्यसैले आधुनिकतासँगै भोजको स्वरूप परिवर्तन भए पनि सुकुल भोजको मौलिकता र महत्वलाई पुस्तान्तरण गर्नुपर्ने आवश्यकता देखिन्छ । त्यसैले टोलटोलमा भएको चोकलाई संरक्षण गर्नुपर्ने नेवारी परम्परा प्रेमीहरुको भनाइ छ ।
पार्टी प्यालेसमा खुवाइन्छ त सुकुल भोज ?
धेरैजसो पार्टी प्यालेसमा सुुकुल भोज खुवाउने व्यवस्था भएको देखिदैन । त्यसैले कसैकसैले शुभकार्यको भोजमा सुुकुल भोज खुुवाउन चाहेर पनि खुवाउन नसकेको देखिन्छ । भक्तपुरका केही पार्टी प्यालेसमा भने कुुर्सीमा बसेर लहरै टेबलमा सुकुल भोज खुवाउने गरेको पनि भेटिन्छन् । एकथरीका मानिस सुुकुल भोज सबै पार्टीमा खुवाउनपर्ने नियम बनाउनुुपर्नेमा पनि जोड दिने गर्दछन् ।
नयाँ पुस्तालाई यसको महत्व बुझाउन नसके भविष्यमा यो केवल इतिहासको विषय बन्न सक्ने सुवालको विश्लेषण छ । ‘‘सुकुल भोज नेवार समुदायको महत्वपूर्ण मौलिक परम्परा हो, यसको प्रचलन घट्दै जानु चिन्ताको विषय हो” उहाँले भन्नुभयो । यस्तै अवस्था रहे मृत्यु संस्कार र गुुठीमा भइरहेको सुुकुुल भोज पनि छिटै पार्टी प्यालेसमा रात्रि भोजमा परिवर्तन हुन धरै समय नलाग्ने बताउँदै उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ, ‘‘कुनै बेला भक्तपुरमा सुुकुल भोज हुन्थ्यो भन्ने दिन पनि नआउँला भन्न सकिदैन ।’’ नयाँ पुुस्तालाई सुुकुल भोजको महत्व बुझाउनुपर्ने हुन्छ, उहाँंहरु बताउनुुुहुन्छ । काठमाडौँ, ललितपुर र अन्य नेवार बस्तीमा सुकुल भोज खुवाउने परम्परा विस्तारै लोभ भइसकेको उहाँले दृष्टान्त दिनुभयो ।
कहाँ र कसरी खुवाइन्छ सुकुल भोज ?
भक्तपुर नगरपालिका–७ बस्ने केशव त्वानाबासुले पहिला पहिला घरको अगाडि रहेको चोकचोक, बाटोमा सुकुल भोज खुुवाउने चलन रहेको सुुनाउनुुभयो । फुर्सदमा बोराबाट बनाएर पाल टाँगेर बास ठहराएर पाल टाँगेर एक हप्ता लामोसम्म भोज खुवाउने चलन रहेको उहाँ सुुनाउनुहुन्छ । तर अहिले भने यो मृत्यु संस्कार र गुुठीको भोजमा मात्र सीमित भएको उहाँ सुनाउनुुहुन्छ । अहिलेको नयाँ पुस्तामा सहयोगको भावना नभएको उहाँले बताउनुुभयो ।
यो भोजमा लस्करै बसेर (झ्वः भ्वय्) खाइन्छ । भोजमा आमन्त्रित पाहुनाहरू सुकुलमा पलेटी कसेर लस्करै बस्नुपर्छ । भोजमा सुरुमा चिउरा र विभिन्न परिकारहरू (छ्यापी, भटमास, साग, आलु तामा, मासु आदि) क्रमैसँग पस्कने परम्परा छ । लहरै बसेको माथिल्लो पहिलो व्यक्तिदेखि अन्तिम व्यक्तिसम्म सबैलाई भोज नराखेसम्म र माथिल्लो सदस्यले खान सुरु नगरेसम्म कसैले खान पाउँदैनन् यो भोजमा ।
सुकुल भोजमा आफूलाई मन लागेको परिकार मात्र लिएर खाइसकेपछि तत्काल उठ्ने सुविधा हुँदैन । यो भोजमा परम्परागत विधि अनुसार भोजमा सहभागीलाई लहरै बसाएर क्रमशः विभिन्न परिकार पस्कने गरिन्छ । सबै परिकारको पालो पूरा भएपछि मात्र भोजबाट उठ्ने चलन छ । “पार्टी प्यालेसमा हुने भोजमा आफूलाई मन लागेको परिकार लियो, खायो र उठ्यो गर्न सकिन्छ,” स्थानीय युवा श्रीओम धौभडेलले भन्नुभयो, “तर सुकुल भोजमा त्यसरी हुँदैन । लहरै विभिन्न परिकार ल्याइन्छ र नटुङ्गेसम्म उठ्न पाइँदैन ।”
नेवार समुदायमा बच्चाको पास्नी, सूर्यदर्शन, व्रतबन्ध, विवाह, वार्षिकोत्सव, रथारोहण तथा गुठीका विभिन्न अवसरमा सुकुल भोज गर्ने परम्परा रहेको छ । परिवारका कुनै सदस्यको मृत्यु भएपछि गरिने मृत्यु संस्कारसँग पनि यसको महत्वपूर्ण सम्बन्ध छ । पहिले विभिन्न जात्रा तथा चाडपर्वमा समेत सुकुल भोज गर्ने चलन रहेको थियो । तर अहिले अधिकांश भोजभतेर पार्टी प्यालेसमा आयोजना गर्न थालिएपछि सुकुल भोज गुठी तथा मृत्यु संस्कारमा बढी सीमित हुन पुगेको छ ।
स्वास्थ्यवर्द्धक मानिन्छ परम्परागत भोज
संस्कृतिविद्हरुका अनुसार परम्परागत नेवारी भोजमा विभिन्न किसिमका परिकारको सन्तुलित संयोजन हुने भएकाले यसको आफ्नै स्वास्थ्यसम्बन्धी महत्व पनि रहेको छ । तर अहिलेको पुस्ताले यस्ता परिकार तयार पार्न समय र श्रम लाग्ने भन्दै आधुनिक भोजलाई प्राथमिकता दिन थालेको देखिन्छ ।
“परम्परागत नेवारी भोज स्वास्थ्यवद्र्धक हुने भए पनि अहिलेको पुस्ताले यसलाई तयार पार्न झन्झट मान्न थालेको छ,” एकजना युवा सुमन कवांँले भन्नुभयो, “पार्टी प्यालेसमा डिनर खाँदा छिट्टै भोक मेटिएजस्तो हुन्छ र केही समयपछि फेरि भोक लाग्न सक्छ । कहिलेकाहीँ पेटमा समस्या पनि हुने गरेको हुन्छ ।” सुकुल भोजमा विभिन्न किसिमका अन्न, गेडागुडी, सागसब्जी, मासु, अचार तथा दुग्धजन्य परिकारको संयोजन हुने गर्दछ । परम्परागत रूपमा परिकारलाई निश्चित क्रममा पस्कने र खाने गरिन्छ ।
के–के परिकार हुन्छन् सुकुल भोजमा ?
नेपाल भाषामा ‘झ्व भ्वये’ भनेर समेत चिनिने सुकुल भोजमा परम्परागत नेवारी परिकारको विविधता पाइन्छ । यसमा चिउरा, अचार, हरियो लसुन, द्याकागु ला अर्थात् झोल भएको राँगाको मासु, केराउ, चना, सिमी, सिम्पुलगायतका गेडागुडीका परिकार समावेश हुन्छन् । त्यसैगरी काउली, आलु, छ्याला अर्थात् तामाको झोल भएको तरकारी, तकोला अर्थात् ठूलाठूला टुक्रा पारिएको राँगाको मासु, हरियो साग, अमिलो, भुटन र दहीलगायतका परिकार पस्कने गरिन्छ ।
भोजको अन्तिममा भिजाएको सानो केराउ, काटेको मुला, गाजर तथा फलफूलका केही टुक्रा सलादका रूपमा राख्ने रम्परा छ । परिकारको विविधता मात्र नभई तिनलाई निश्चित क्रममा पस्कने र खाने शैली पनि सुकुल भोजको विशेषता हो ।
कहिलेदेखि सुरु भयो सुकुल भोज ?
सुकुल भोजको सुरुवात ठ्याक्कै कुन समयदेखि भयो भन्ने यकिन प्रमाण नरहेको संस्कृतिविद्हरु बताउँछन् । नेवार समुदायले आफ्नो परम्परा, सामाजिक संरचना र सभ्यताको विकास गर्ने क्रममा सामूहिक रूपमा खाना खाने संस्कृतिको विकाससँगै सुकुल भोजको परिकल्पना गरेको हुनसक्ने उहाँहरुको भनाइ छ । सुकुल भोजसँग जोडिएको सामूहिकता, आत्मीयता, परम्परागत खानपान र सामाजिक सहभागिता नेवार समुदायको सांस्कृतिक पहिचानको महत्वपूर्ण पक्ष हो । आधुनिक जीवनशैलीसँगै यसको अभ्यास घट्दै गए पनि यसको मौलिक स्वरूप र सांस्कृतिक महत्वलाई नयाँ पुस्तासम्म पु¥याउनसके संरक्षण गर्न सकिने संस्कृतिविद्हरू बताउँछन् ।
प्राचीनकालमा काठमाडौँ उपत्यकाका राजाहरूले राज्यमा सम्पन्नता र एकता झल्काउन ठूला–ठूला सामूहिक भोजहरूको आयोजना गर्दथे । सुरुका दिनहरूमा भोजमा बस्दा धनी, गरिब, उच्च ओहोदाका र सर्वसाधारण व्यक्तिहरूबीच विभेद हुने गथ्र्यो । हुनेखानेहरू चकटी वा महङ्गा कपडाका आसनमा बस्थे भने गरिबहरू खाली भूइँमा बस्नुपथ्र्यो । यो विभेद र असमानतालाई हटाउन मल्ल राजा र तत्कालीन संस्कृतिविद्हरूले एउटा नियम बनाए—भोजमा सरिक हुने सबैजना परालबाट बुनिएको एउटै लामो सुकुलमा लहरै बस्नुपर्ने । सुकुलमा बसेपछि राजा, मन्त्री, धनी वा गरिब कोही पनि सानो–ठूलो नहुने र सबैको हैसियत समान हुने मान्यता राखियो । यही सामाजिक समानता र आत्मीयताको भावना जगाउन नै ‘सुकुल भोज’ को सुरुवात भएको किम्बदन्ती छ ।