वीरगन्ज (पर्सा), २९ कात्तिकः छठ पूजाको अवसरमा बारा–पर्साको औद्योगिक करिडोर भएर बहने सिर्सिया नदी आज सङ्लो र सफा देखिएको छ । गण्डक नहरबाट नारायणीको पानी जगरनाथपुर हुँदै सिर्सियामा मिसाएपछि नदी सफा र सङ्लो भएको हो ।
भारतीय पक्षसँग समन्वय गरी गण्डक नहरको पानी मिसाएपछि नदी सफा भएको प्रतिनिधिसभा सदस्य हरि पन्तले जानकारी दिनुभयो । सिर्सिया सफा र प्रदुषण मुक्त गराउन सांसद पन्तले पहल गर्दै आउनुभएको छ । यसअघि गृहमन्त्री सुधन गुरुङले सो नदीको स्थलगत अवलोकन निरीक्षण गर्नुभएको थियो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रदूषण गर्ने उद्योगलाई जरिवाना गरेर निरन्तर सजग गराउँदै आएको छ । सांसद पन्तले नदीलाई पूर्ण रूपमा सफा राख्नका लागि पहल भइरहेको जानकारी दिनुभयो ।