काठमाडौँ, २९ कात्तिकः नेपाल प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट चोरीका मोटरसाइकल र स्कुटरसहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चोरीका मोटरसाइकल र सवारीसाधनका सामग्रीसहित सिन्धुपाल्चोकका तेन्जिङ लामा, लाक्पा शेर्पा र समीर तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।
परिसरका प्रवक्ता दानबहादुर थापाले यही कात्तिक २७ गते राति चाबहिलमा सवारी जाँचका क्रममा बा८४प ५४८४ नम्बरको सेतो र कालो रङको एनएस मोटरसाइकल शङ्कास्पद लागेपछि चालक लामा र पछाडि सवार शेर्पालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।
नियन्त्रणमा लिइएकासँग सोधपुछ गर्दा उक्त मोटरसाइकल चोरीको भएको र समीर तामाङले बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ । समिरलाई शनिबार सुन्दरीजलबाट पक्राउ गरिएको परिसरले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट मोटरसाइकल, स्कुटर र दुईवटा नम्बर प्लेट बरामद गरेको छ । यस्तै, सवारी दर्ता किताब एक थान, टुल बक्स एक थान, टुलकिट १३ थान र मोबाइल फोन चार थान बरामद गरिएको प्रवक्ता थापाले बताउनुभयो । पक्राउ परेका तीनै जनालाई चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।