काठमाडौँ, २९ कात्तिकः छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अघ्र्य दान गरेका बर्तालु पशुपति क्षेत्रस्थित गुह्येश्वरी गौरीघाट क्षेत्रको छठ घाटमै जाग्राम बसेका छन् ।
कार्तिक शुक्ल सप्तमीका दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दान गर्नुअघिसम्म बर्तालु यहीँ जाग्राम बस्ने छठ पूजा समिति गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले राससलाई जानकारी दिनुभयो ।
बर्तालु पूजा, आराधनापछि भजनकीर्तनका साथै भक्तिसङ्गीत बजाएर नाचगान गर्दै बसेको उहाँले सुनाउनुभयो । सोमबार बिहान उदाउँदो सूर्यलाई पूजा, आराधनासहित अघ्र्य दान गरेपछि चारदिने छठ पर्व समाप्त हुन्छ । छठ घाटमा बस्न नसक्ने बर्तालु भने बेलुकीको कर्म सकेर घर गई बिहानै घाटमा आई व्रत समापन गर्छन् ।
आज बेलुकी अस्ताउँदो सूर्यको पूजा आराधनासहित अघ्र्य दानका लागि भक्तजन उपस्थिति भएको छठ पूजा समिति, गुह्येश्वरीका अध्यक्ष सिंहले उल्लेख गर्नुभयो । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना गरिन्छ । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डवको गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्यको किरण चिकित्सामाथि कैयाँै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणवाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचार गरिएको छ ।
पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त भएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । पर्वमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।
यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् । व्रत गर्ने सामग्री नभई गुह्येश्वरीमा आएर छठ पूजा गर्न चाहनेलाई निःशुल्क रूपमा सबै व्यवस्था गरिएको अध्यक्ष सिंहले जानकारी दिनुभयो ।