मंसिर ७, २०८३ सोमबार

बागमती, ७ मङ्सिर : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशी बाढी तथा विपद्का कारण प्रभावितको पुन:स्थापनामा प्रदेश सरकारले पहल गर्ने बताउनुभएको छ ।

     बागमती प्रदेश सरकारको विपद् व्यवस्थापन समितिको आजको बैठकमा उहाँले रसुवा, नुवाकोट, धादिङ लगायत बागमती प्रदेशका विभिन्न जिल्लामा भएको जनधनको क्षति, प्रभावित नागरिकको अवस्था, उद्धार तथा बेपत्ता नागरिकको खोजी र पुन:स्थापनाका विषयमा प्रदेश सरकारले आवश्यक पहल गर्ने बताउनुभयो ।

    विपद्बाट प्रभावित क्षेत्रको वर्तमान अवस्था, नागरिकले भोग्नुपरेका समस्या तथा उद्धार, राहत र पुन:स्थापनाका लागि चाल्नुपर्ने कदम लगायतका विषयमा बैठकमा  विस्तृत छलफल गरिएको थियो ।

    बैठकमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने, क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्ने, विस्थापित नागरिकको सुरक्षित बसोबास सुनिश्चित गर्ने तथा प्रभावित क्षेत्रको पुन:स्थापनाका लागि आवश्यक पहल गर्ने विषयमा जनप्रतिनिधि तथा सरोकारवालाहरूबाट सुझाव र धारणा लिइएको थियो ।

    विपद्का कारण प्रभावित नागरिकको जीवनरक्षा र उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउनु सरकारको प्राथमिक दायित्व भएकोमा मुख्यमन्त्री थापाले जोड दिनुुभयो ।

    विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको जीवनरक्षा, उद्धार, राहत, पुन:स्थापना र पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राख्दै तीनै तहका सरकार तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय, सहकार्य र एकताबद्ध प्रयासका साथ अघि बढ्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    विपद्बाट प्रभावित नागरिकलाई राहत तथा पुन:स्थापनाको अनुभूति दिलाउन प्रदेश सरकारका तर्फबाट आवश्यक समन्वय र पहल गरिने उहाँको भनाइ छ ।