मंसिर १६, २०७९ शुक्रबार

काठमाडौं । अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डीसी आज शुक्रबार विवाह बन्धनमा बाँधिने भएका छन् ।

करिब १० वर्षदेखिको लामो प्रेम सम्बन्धलाई दुवैले विवाहमा परिणत गर्न लागेका हुन् ।

विवाह समारोह हायात रिजेन्सी होटल बौद्धमा आयोजना गरिएको छ । आश्मा लिन संयम जन्ति लिएर दिउँसो हायात पुग्ने कार्यक्रम रहेको छ ।

संयम वरिष्ठ फिल्म निर्देशक नारायण पुरीका छोरा हुन्, आश्मा गोपीकृष्ण हलका म्यानेजर प्रदीप दाहालकी छोरी हुन् । संयम र आश्मा दुवै पछिल्लो समय अमेरिका रहँदै आएका छन् । बिवाहकै लागि उनीहरु गत शुक्रबार नेपाल फर्किएका हुन् ।

सन् २०१२ मा रिलिज भएको ‘सायद’ बाट अभिनयमा डेब्यु गरेका संयमले ‘ग्याङस्टर ब्लुज’, ‘आभास’, ‘नाइँ नभन्नु ल ३’, ‘पुन्टे परेड’, ‘रातो घर’, ‘कर्तव्य’ र ‘अल्पविराम’ जस्ता फिल्ममा अभिनय गरेका छन् ।

आश्माले पनि ‘आभाष’ र ‘नाइँ नभन्नु ल ३’ मा अभिनय गरेकी छिन् । फिल्म ‘आभास’ संयम र आश्मा एकसाथ देखिएका थिए । 

संयमको रिसेप्सन पार्टी भने मंसिर २१ मा आयोजना गरिएको छ ।