टक्सार (भोजपुर), २० जेठः बाह्र वर्षअघि अवसरको खोजीमा टक्सार छाडेर काठमाडौँ गएका सुजन उदासले सोच्नुभएको थिएन, फेरि गाउँमै फर्किएर व्यवसाय सञ्चालन गर्नुपर्ला भनेर । तर, उहाँले सोचेजस्तो भएन– ‘बाह्र वर्षमा खोलो पनि फर्किन्छ’ भनेझैँ उहाँ पनि फेरि गाउँ फर्किनुभयो ।
उदास एक दशक लामो काठमाडौँ बसाइ बिट मार्दै गाउँ फर्किनुभयो । यहाँ आएपछि उहाँले भोजपुर नगरपालिका–१२ स्थित ऐतिहासिक टक्सार बजारमा ‘टक्सार नेवाः घासा’ सञ्चालन गर्नुभएको छ । पछिल्ला दिनमा उहाँको व्यवसाय स्थानीय तथा नेवारी परिकारको स्वाद लिने थलो बनेको छ ।
उदासले भन्नुभयो, “पहिले यहाँ सम्भावना देखिनँ, त्यसैले बाहिरिएँ, तर पछिल्ला वर्षमा पर्यटकको चहलपहल बढ्न थालेको देखेर आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने विश्वास जाग्यो र फर्किएँ । यसरी फर्किएकामा कुनै पछुतो छैन ।”
उदासको पुनरागमनले व्यवसायको सुरुआतमात्र होइन, लामो समयदेखि बसाइँसराइका कारण सुनसानजस्तै बनेको टक्सार बजारलाई चलायमान बनाउन योगदानसमेत गरिरहेको छ । उहाँको कदमले यसका साथै गाउँ छाडेर सहर गएकाहरूलाई गाउँ फर्किएर केही गर्न महत्त्वपूर्ण सन्देशसमेत दिएको छ ।
विगतमा नेपालमा ‘डोली पैसा’ उत्पादन हुने केन्द्रका रूपमा परिचित टक्सार पछिल्ला दशकमा जनशक्ति पलायनको मारमा परिरहेको थियो । यहाँ कलात्मक नेवारी घरहरू जीर्ण बन्दै गएका थिए भने बजारको चहलपहल पनि घट्दै गएको थियो । पछिल्ला वर्षमा भने आन्तरिक पर्यटकको आगमन बढ्न थालेसँगै टक्सारले फेरि जीवन पाउन थालेको उदासको बुझाइ छ । सोही बुझाइपछि आफू आफ्नै गाउँ फर्किएको उहाँले सुनाउनुभयो ।
स्थानीयवासी विमल रणपहेलीका अनुसार उदासमात्रै होइन विगतमा अवसरको खोजीमा बाहिरिएका अन्य केही स्थानीयहरूले गाउँ फर्किएर व्यवसायमा लगानी गर्न थालेका छन् । “पहिले बजार खाली हुँदै गएको थियो । यहाँबाट छोडेर गएकामध्ये केही व्यक्तिहरू आफ्नै ठाउँमा फर्केर व्यवसाय गर्न थालेका छन् । यसले उत्साह थपिएको छ । अब सरकारले उचित वातावरण बनाएर गाउँ फर्किने आधार बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो ।
स्थानीयका अनुसार टक्सारको ऐतिहासिक सम्पदा, नेवारी संस्कृति, मौलिक परिकार र पुराना बस्तीले पर्यटक आकर्षित गर्न थालेका छन् । यसले स्थानीय अर्थतन्त्र चलायमान बनाउने अपेक्षा गरिएको छ ।
उदासले पनि स्थानीय अर्थतन्त्रमा थोरै भए पनि योगदान गर्ने योजनाअनुसार गाउँ फर्किएको र आफ्नो निर्णयमा सन्तुष्ट रहेको सुनाउनुभयो । “आफ्नो ठाउँमा काम गर्नुको छुट्टै आनन्द रहेछ”, उहाँले भन्नुभयो, “टक्सारको पहिचान जोगाउँदै आफ्नै ठाउँमा केही गर्न सकेँ भने त्यो मेरो सबैभन्दा ठूलो सफलता हुनेछ, त्यसका लागि मिहिनेत गरिरहेको छु ।”
टक्सार विसं १८७२ मा तत्कालीन राजा गीर्वाणयुद्धको पालामा स्थापित सहर हो । यसलाई बजारलाई ‘मिनी पाटन’का रूपमा पनि चिनिन्छ । ललितपुरको पाटनमा भएअनुसारका धार्मिकस्थलहरू उहाँ पनि रहेकाले यस स्थानलाई त्यस्तो भनिएको जानकारहरू बताउँछन् । पाटनबाट टक्सार आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति यस स्थानमा भित्र्याएका र यहाँ नेपालकै पहिलो शाक्यमुनि बौद्ध विहारसमेत रहेको छ । जसको स्थापना १९९३ सालमा भएको थियो । राणाहरूले टक्सारबाट डोली पैसा चलाएका बेला यहाँ मठमन्दिर, विहार, गुम्बा, चैत्य, धारा, पाटीपौवा र मूर्तिहरू बनाइने गरिएको स्थानीय रणपहेलीले बताउनुभयो ।
यही ऐतिहासि स्थानमा पछिल्लो समय नयाँ होटल, रेस्टुरेन्ट, क्याफे तथा सांस्कृतिक गतिविधि विस्तार हुन थालेका छन् । ऐतिहासिक सम्पदाको संरक्षणसँगै पर्यटन र स्थानीय व्यवसायलाई जोड्न सके टक्सार पूर्वी नेपालको आकर्षक पर्यटन गन्तव्यका रूपमा पुनः स्थापित हुनसक्ने सम्भावना रहेको स्थानीय किशोरकुमार ताम्रकारको भनाइ छ ।