लस एन्जलस, २ असार : दक्षिणी क्यालिफोर्नियाको मोजावे मरुभूमिमा रहेको एडवड्र्स एयर फोर्स बेसमा परीक्षण उडानका क्रममा अमेरिकी वायु सेनाको बी–५२ बमवर्षक दुर्घटनाग्रस्त हुँदा सवार सबै आठ जनाको मृत्यु भएको छ । टेकअफ गरेको केही समयमै भएको उक्त दुर्घटनापछि विमानमा आगलागी भएको र मरुभूमि क्षेत्रमा ठूलो क्षति पुगेको अधिकारीहरूले पुष्टि गरेका छन् ।
दुर्घटना सोमबार बिहान करिब ११ः२० बजे नियमित परीक्षण मिसनका क्रममा भएको हो । लस एन्जलसको उत्तरमा रहेको उक्त आधारको रनवे नजिकैको मरुभूमि क्षेत्रमा विमान खसेपछि ठूलो मात्रामा कालो धुवाँ उठेको र आपतकालीन टोलीहरू तुरुन्तै परिचालन गरिएको हवाई दृश्यहरूले देखाएका छन् ।
एडवड्र्स एयर फोर्स बेसको ४१२ औँ टेस्ट विङका उपकमान्डर कर्नल जेम्स हेसका अनुसार विमानमा सरकारी ठेकेदार र वर्दीधारी सैनिकहरू सवार थिए । विमान निर्माता बोइङले पनि आफ्ना दुई कर्मचारी विमानमा रहेको पुष्टि गरेको छ । अधिकारीहरूले सबै आठ जनाको ज्यान गएको र उनीहरूको परिवारलाई जानकारी दिने प्रक्रिया जारी रहेको बताएका छन् ।
कर्नल हेसले पत्रकार सम्मेलनमा भन्नुभयो, “हामीले आठ जना महान् अमेरिकीहरू गुमाएका छौँ ।” उहाँका अनुसार दुर्घटनाको कारण तत्काल स्पष्ट नभए पनि विस्तृत अनुसन्धान सुरु गरिएको छ । अनुसन्धानमा करिब छ महिना लाग्न सक्ने अनुमान गरिएको छ ।
दुर्घटनाग्रस्त बी–५२ विमान राडार आधुनिकीकरण कार्यक्रमसँग सम्बन्धित परीक्षण उडानमा संलग्न रहेको बताइएको छ । तर यो नै त्यही विशेष विमान थियो कि थिएन भन्ने विषयमा स्पष्टता आएको छैन ।
बी–५२ स्ट्राटोफोट्र्रेस अमेरिकी वायु सेनाको लामो दूरी बमवर्षक विमान हो । यो विमानले सन् १९५५ देखि सेवा दिँदै आएको छ । परम्परागत र आणविक हतियार बोक्न सक्ने क्षमता भएको यो विमान भियतनामदेखि मध्यपूर्वसम्मका विभिन्न सैन्य अभियानमा प्रयोग हुँदै आएको छ ।
एडवड्र्स एयर फोर्स बेसलाई अमेरिकी वायु सेनाको प्रमुख परीक्षण केन्द्रका रूपमा लिइन्छ । यहाँ विमान, हतियार प्रणाली र सफ्टवेयरहरूको विकास र परीक्षण गरिन्छ । यही आधारमा सन् १९४७ मा परीक्षण पाइलट चक येगरले पहिलो पटक ध्वनि अवरोध तोड्दै ऐतिहासिक उपलब्धि हासिल गर्नुभएको थियो ।
दुर्घटनापछि एयरफिल्ड केही समयका लागि बन्द गरिएको थियो र उडानहरू अन्य स्थानमा मोडिएका थिए । पछि आधार आंशिक रूपमा पुनः सञ्चालनमा आएको भए पनि गैर–व्यावसायिक आगन्तुक पासहरू निलम्बन गरिएको छ ।
वायु सेना सचिव ट्रोय मिन्कले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्देश जारी गर्नुभएको छ । उहाँले भन्नुभयो, “हामी यो क्षतिमा शोक मनाउँछौँ र आफ्नो कर्तव्य पूरा गर्न निरन्तर खटिने एयरम्यान, नागरिक र ठेकेदारहरूको सेवाको सम्मान गर्दछौँ ।”
उड्डयन सुरक्षा विशेषज्ञ जेफ गुजेट्टीका अनुसार प्रारम्भिक सङ्केतहरूले उडान नियन्त्रण प्रणालीमा समस्या देखिएको हुन सक्ने अनुमान गरिएको छ । उहाँले मर्मतपछि नियन्त्रणमा त्रुटि, इन्जिन असफलता वा परीक्षण उपकरणमा समस्या हुन सक्ने सम्भावनाहरू औँल्याउनुभयो ।
यद्यपि बी–५२ जस्तो विमान दशकौँदेखि प्रयोगमा रहे पनि नयाँ राडार प्रणाली तथा आधुनिक परीक्षण उपकरणहरूको समावेशले परीक्षण उडानलाई अझ जटिल र जोखिमपूर्ण बनाउने विज्ञहरूको भनाइ छ । उड्डयन विज्ञहरूले परीक्षण उडान सामान्य सञ्चालनभन्दा सधैँ बढी जोखिमपूर्ण हुने भएकाले कडा सुरक्षा प्रोटोकल आवश्यक हुने बताएका छन् ।
यसअघि पनि अमेरिकी वायु सेनाका प्रशिक्षण र परीक्षण उडानहरूमा घातक दुर्घटनाहरू भएका छन्, जसमा २०२४ मा टेक्सासमा इजेक्शन सीट सक्रिय हुँदा एक प्रशिक्षक पाइलटको मृत्यु भएको थियो भने २०२२ र २०२१ मा भएका अलग–अलग दुर्घटनाहरूमा पनि पाइलटहरूको ज्यान गएको थियो ।
हालको दुर्घटनापछि अमेरिकी वायु सेनाले विस्तृत अनुसन्धान अघि बढाएको छ भने घटनाको वास्तविक कारण अझै खुल्न बाँकी रहेको अधिकारीहरूले बताएका छन् ।