काठमाडौं । भारतको बिहारमा भएको बाँकीपुर विधानसभा उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोरले प्रभावशाली जित निकालेका छन्। लामो समयदेखि भारतीय जनता पार्टी (भाजपा)को पकडमा रहेको निर्वाचन क्षेत्रमा किशोरले जित हात पार्दै राजनीतिक रूपमा महत्वपूर्ण ‘डेब्यु’ गरेका हुन्।
भाजपा अध्यक्ष नितिन नवीन राज्यसभामा निर्वाचित भएपछि रिक्त भएको बाँकीपुर विधानसभा क्षेत्रमा जुलाई ३० मा उपनिर्वाचन भएको थियो। उक्त निर्वाचनमा जन सुराजका प्रशान्त किशोरले भाजपाका उम्मेदवार नीरज कुमारलाई पराजित गरेका हुन्।
निर्वाचन परिणामअनुसार किशोरले ६४ हजार १५१ मत प्राप्त गर्दा भाजपाका कुमारले ४४ हजार ८२७ मत पाए। किशोरले १९ हजार ३२४ मतको अन्तरले जित निकालेका हुन्।
किशोरको यो जितलाई बिहारको राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। बाँकीपुरमा सन् १९९५ देखि लगातार जित्दै आएको भाजपाको करिब तीन दशक लामो दबदबा यसपटक समाप्त भएको छ।
‘३० वर्षको किल्ला ३० दिनमै ढल्यो’
निर्वाचनमा विजयी भएपछि प्रशान्त किशोरले आफ्नो जितलाई केवल एउटा निर्वाचन क्षेत्रको परिणामका रूपमा मात्र नहेर्न आग्रह गरेका छन्।
उनले लामो समयदेखि कायम रहेको भाजपाको राजनीतिक प्रभाव छोटो समयमै परिवर्तन भएको दाबी गर्दै ‘३० वर्षदेखि कायम रहेको किल्ला ३० दिनमै ढलेको’ प्रतिक्रिया दिएका छन्।
किशोरले यो निर्वाचन एक जना विधायक चयन गर्ने प्रक्रियामा मात्र सीमित नरहेको दाबी गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी र संघीय गृहमन्त्री अमित शाहलाई समेत जनताको सन्देश गएको बताएका छन्।
उनले बिहारका जनताले विधानसभा निर्वाचनमा २०२ सांसदलाई बहुमत दिएपछि राम्रो छवि र क्षमता भएको व्यक्तिलाई मुख्यमन्त्री बनाउनुपर्ने धारणा पनि व्यक्त गरेका छन्।
‘एक सिट जित्दैमा ठूलो सपना नदेखौँ’
किशोरले आफूले एक सिटमा जित हासिल गर्दैमा अत्यधिक उत्साहित भएर अव्यावहारिक अपेक्षा राख्न नहुने बताएका छन्।
उनका अनुसार सांसद बनेपछि बाँकीपुर तत्कालै बैंग्लोरजस्तो विकसित शहरमा रूपान्तरण नहुने भए पनि स्थानीय तहमा देखिने परिवर्तन ल्याउन आफूले सक्दो प्रयास गर्नेछन्।
उनले आफ्नो कार्यकालको सुरुवाती दुई–तीन महिनामै जनताले केही सकारात्मक फरक अनुभूति गर्न सक्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
किशोरको जितसँगै बिहार विधानसभामा सांसदको संख्या २०१ पुगेको छ।
मध्यप्रदेशमा कांग्रेसको बाजी
उपनिर्वाचनअन्तर्गत भारतको मध्यप्रदेशस्थित डाटिया विधानसभा क्षेत्रमा भने कांग्रेसले सफलता हात पारेको छ।
कांग्रेसका उम्मेदवार घनश्याम सिंहले भाजपाका आशुतोष तिवारीलाई ६ हजार १६ मतको अन्तरले पराजित गरेका हुन्।
सिंहले ६६ हजार ७५७ मत प्राप्त गर्दा भाजपाका तिवारीले ६० हजार ७४१ मत पाएका छन्।
डाटिया क्षेत्रमा सन् २०२३ मा सम्पन्न विधानसभा निर्वाचनमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका थिए। यसपटकको उपनिर्वाचनले कांग्रेसले आफ्नो पकड कायम राखेको देखिएको छ।
गुजरातमा भाजपाको सहज जित
यता गुजरातको मञ्जपुर विधानसभा क्षेत्रमा भने भाजपाले आफ्नो पक्षमा परिणाम निकालेको छ।
भाजपाका उम्मेदवार सतेन्द्रभाइ पटेलले कांग्रेसका भिखाभाई रबरीलाई करिब ३० हजार मतको अन्तरले पराजित गरेका छन्।
तीनवटा विधानसभा क्षेत्रमा भएको उपनिर्वाचनको परिणाम हेर्दा भाजपा र कांग्रेसले एक–एक सिटमा जित हासिल गरेका छन् भने बिहारको बाँकीपुरमा प्रशान्त किशोर नेतृत्वको जन सुराज पार्टीले बाजी मारेको छ।
यस परिणामले बिहारमा जन सुराज पार्टीको प्रभाव विस्तारको संकेत देखाएको छ भने बाँकीपुरजस्तो भाजपाको परम्परागत गढमा किशोरको जितले आगामी राजनीतिक समीकरणबारे नयाँ बहससमेत सुरु भएको छ।