असार ३, २०८३ बुधबार

कजान (रुस), ३ असार : युक्रेन युद्ध अन्त्य गर्न पश्चिमी मुलुकहरू, विशेषगरी जी–७ ले रुसमाथि दबाब बढाइरहेका बेला राष्ट्रपति भ्लादिमिर पुटिनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको शिखर सम्मेलन आयोजना गर्दै मस्कोको एसियासँगको सम्बन्ध विस्तारको सङ्केत दिनुभएको छन् ।

    मध्य रुसको तातारस्तान राजधानी कजानमा बुधबारदेखि सुरु भएको सम्मेलनमा आसियानका नेताहरूलाई स्वागत गर्दै पुटिनले पश्चिमी प्रतिबन्ध र युद्धको दबाबबीच रूसको कूटनीतिक तथा आर्थिक ध्यान एसियातर्फ मोडिएको स्पष्ट सन्देश दिनुभयो । फ्रान्समा सम्पन्न जी–७ शिखर सम्मेलनमा युक्रेन र मध्यपूर्व युद्ध अन्त्यका विषयमा मुख्य छलफल भइरहेका बेला यो बैठकलाई रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ । 

    दक्षिणपूर्वी एसियाली राष्ट्र सङ्घका ११ सदस्य राष्ट्रका प्रतिनिधिहरू सम्मेलनमा सहभागी हुन कजान पुगेका छन् । थाइल्यान्ड, भियतनाम, कम्बोडिया, लाओस, मलेसिया र सिङ्गापुरका प्रधानमन्त्रीहरू सहभागी हुनुहुन्छ भने फिलिपिन्सको प्रतिनिधित्व राष्ट्रपति फर्डिनान्ड मार्कोसले गर्नुभएको छ । सन् २०२१ को सैन्य विद्रोहपछि मस्कोसँग नजिक सम्बन्ध राख्दै आएको म्यान्माले पनि प्रतिनिधिमण्डल पठाएको छ ।

    क्रेमलिनका अनुसार सम्मेलनमा विश्व तथा क्षेत्रीय सुरक्षा, व्यापार, लगानी र मानवीय सहयोगका विषयमा रूस–आसियान सहकार्यलाई नयाँ दिशामा लैजानेबारे छलफल हुनेछ । यो बैठक रूस र आसियानबीचको ३५ वर्षे सम्बन्धको स्मरणसँग पनि जोडिएको छ ।

    युक्रेन युद्धका कारण पश्चिमी देशहरूको कडा प्रतिबन्ध सामना गरिरहेको रूसले पछिल्ला वर्षहरूमा आफ्नो ऊर्जा निर्यात, विशेषगरी तेल, एसियाली बजारतर्फ केन्द्रित गरेको छ । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले देशमा निरन्तर तेल आपूर्ति सुनिश्चित गर्नुपर्ने विषयमा छलफल गर्ने चाहना व्यक्त गर्नुभएको छ ।

    यसैबीच मध्यपूर्वमा इरानसँग सम्बन्धित अमेरिका–इजरायल तनावका कारण उत्पन्न ऊर्जा सङ्कटले एसियाली मुलुकहरूलाई थप असर पारेको छ र यसले क्षेत्रीय ऊर्जा कूटनीतिलाई अझ संवेदनशील बनाएको छ ।

    तर रुसभित्रै पनि आर्थिक चुनौती बढिरहेका छन् । उच्च मुद्रास्फीति, श्रम अभाव र बढ्दो खर्चका कारण रूसी अर्थतन्त्र दबाबमा रहेको छ । युद्धभूमिमा पनि यस वर्ष रूसी सेनाको प्रगति सुस्त देखिएको छ भने युक्रेनले तातारस्तानसहित रूसका विभिन्न क्षेत्रहरूमा आक्रमण बढाएको छ ।

    जी–७ शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग भेट गर्दै रुसले युद्ध अन्त्य गर्न सम्झौता गर्नुपर्ने बताउनुभएको थियो । उहाँले रुसमाथि थप प्रतिबन्ध लगाउने सम्भावनासमेत सङ्केत गर्नुभएको छ र रूसी तेलमाथि नयाँ नियन्त्रणबारे पनि चर्चा भएको छ ।

    ट्रम्पले मध्यपूर्व युद्धपछि हर्मुज जलघाँटी खुला भएकाले तेल आपूर्तिमा सुधार आएको उल्लेख गर्दै प्रतिबन्ध रणनीति चाँडै पुनः लागू हुन सक्ने बताउनुभयो । यसअघि वासिङ्टनले समुद्रमा रहेका रूसी तेल ढुवानीका लागि केही प्रतिबन्ध छुट दिएको थियो ।

    राष्ट्रपति पुटिनले भने युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग प्रत्यक्ष वार्ताको प्रस्ताव बारम्बार अस्वीकार गर्दै आउनुभएको छ । मस्कोले युक्रेनको पूर्वी डोनबास क्षेत्रमाथि नियन्त्रण कायम गर्ने लक्ष्य दोहो¥याउँदै आएको छ ।

    सन् २०२२ फेब्रुअरीमा सुरु भएको रूसको पूर्ण सैन्य आक्रमण दोस्रो विश्वयुद्धपछि युरोपकै सबैभन्दा ठूलो युद्धमा रूपान्तरण भएको छ र यसले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई गहिरो रूपमा प्रभावित गरेको छ ।