काठमाडौं । सांसद तैफिक अहमद खानले आफ्नो निर्वाचन क्षेत्र रूपन्देही–५ अन्तर्गतका विभिन्न स्थानीय तहका नागरिकका समस्या तथा विकासका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद खानले सैनामैना नगरपालिका–७ स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रियस्तरको खेलकुद पूर्वाधारका रूपमा प्राथमिकतामा राखी निर्माण प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका छन्।
त्यस्तै, निर्वाचन क्षेत्रअन्तर्गतका चारवटै स्थानीय तहमा शुद्ध तथा सुरक्षित खानेपानीको अभाव रहेको भन्दै नागरिकलाई सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्न आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराए।
खानले लुम्बिनी, गेडवा ताल, दानापुर, गजेडी, सिसार तथा मलमला चौराहा क्षेत्रलाई लुम्बिनी–बुद्ध सर्किटअन्तर्गत विकास गरी पर्यटन प्रवर्द्धनमा विशेष प्राथमिकता दिनुपर्ने बताए।
उनले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका विषयमा देखिएको अन्योल अन्त्य गर्दै स्पष्ट नीति निर्माण र प्रभावकारी कार्यान्वयन गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन्।