साउन १९, २०८३ मंगलबार

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजुनाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका–६ स्थित माकलबारी बस स्ट्यान्डदेखि जोरपाटीतर्फ जाने सडक विस्तारका क्रममा नेपाल ट्रस्टको स्वामित्वमा रहेको क्षेत्रको पहाड हटाइएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएका छन्।

साउन १८ गते जारी विज्ञप्तिमार्फत सांसद पाण्डेले उक्त विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका समाचार र सामग्रीप्रति ध्यानाकर्षण भएको बताएका हुन्।

उनले नेपाली सेना राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय एकता, सुरक्षा तथा विपद्का चुनौतीपूर्ण परिस्थितिमा अग्रपंक्तिमा रहेर अतुलनीय योगदान पुर्‍याउँदै आएको संस्था भएको उल्लेख गर्दै नेपाली सेनाप्रति उच्च सम्मान व्यक्त गरेका छन्।

पाण्डेका अनुसार सडक विस्तारका क्रममा सम्बन्धित नेपाली सेनाको टुकडीलाई आवश्यक जानकारी नपुगेका कारण प्रारम्भिक चरणमा केही असहज अवस्था सिर्जना भएको थियो।

तर, त्यसपछि नेपाली सेनाका प्रमुख सेनानीसँग आपसी समन्वय र छलफल गरी नेपाली सेनाको पूर्ण सहयोग तथा सहकार्यमा सडक विस्तारको काम सफलतापूर्वक सम्पन्न भएको जानकारी उनले दिएका छन्।

उक्त कार्य काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति तथा पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको पनि विज्ञप्तिमा उल्लेख छ।

साथै, वास्तविकता नबुझी सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत भ्रम फैलाउने, संस्थाहरूबीच अनावश्यक विवाद सिर्जना गर्ने वा तथ्यभन्दा फरक निष्कर्ष प्रस्तुत गर्ने कार्य नगर्न उनले सबैमा आग्रह गरेका छन्।

राष्ट्र निर्माण, विकास र जनसेवाको साझा यात्रामा नेपाली सेनालगायत सबै राज्य संयन्त्रबीचको सहकार्य, आपसी सम्मान र समन्वयलाई प्राथमिकता दिने प्रतिबद्धतासमेत सांसद पाण्डेले व्यक्त गरेका छन्।