साउन १९, २०८३ मंगलबार

काठमाडौं । सांसद दीपक कुमार साहले सुनसरीमा अमरप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र मेहता र गणेश यादवको दुखद हत्याप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

सांसद साहले घटनामा घाइते भएका मिसेस यादव, मिकेश मेहता, अम्बेश मेहता, सुनिल कुमार मेहता र अमित कुमार यादवसहित सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

घटना भएको सात दिन बितिसक्दा पनि सार्वजनिक घटनाको छानबिन प्रतिवेदन सार्वजनिक नभएकोप्रति दुःख व्यक्त गर्दै साहले घटनाको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

उनले घटनामा संलग्न दोषीलाई कानूनबमोजिम कारबाही गरी पीडितलाई न्याय तथा घाइतेहरूको प्रभावकारी उपचार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए।

साथै, नेपाल प्रहरीको तालिम, सामुदायिक सुरक्षा तथा धार्मिक–सामाजिक सद्भावलाई अझ प्रभावकारी बनाउँदै देशका कुनै पनि क्षेत्रमा यस्ता दुःखद घटना दोहोरिन नदिने वातावरण निर्माण गर्न सरकारसँग विशेष आग्रह गरेका छन्।