काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रिले नेपालमा सुकुम्बासी समस्या समाधानका नाममा लामो समयदेखि राजनीति हुँदै आएको बताएका छन्।
प्रतिनिधिसभामा सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा बोल्दै सांसद खत्रिले वास्तविक सुकुम्बासीको व्यवस्थापन गर्नुभन्दा उनीहरूको नाममा राजनीति गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए।
उनले सुकुम्बासी बस्ती हटाउने क्रममा भएका घटनालाई लिएर सरकारको आलोचना भए पनि दशकौँदेखि सुकुम्बासी समस्या समाधान हुन नसक्नुमा विगतका सरकार र राजनीतिक नेतृत्व पनि जिम्मेवार रहेको दाबी गरे।
कर्कीले सरकारले अहिले गरिरहेको काम सुकुम्बासी बस्ती व्यवस्थापनमा मात्र सीमित नभई सुकुम्बासीका नाममा लाभ लिने बिचौलिया, भूमाफिया र अतिक्रमणकारीलाई नियन्त्रण गर्ने अभियानसमेत भएको बताए।
वर्षौंदेखि लालपुर्जाको प्रतीक्षामा रहेका वास्तविक सुकुम्बासीलाई सरकारले जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउन थालेपछि बिचौलिया र भूमाफियाको गतिविधि नियन्त्रण हुने उनको भनाइ थियो।
उनले जोखिमयुक्त स्थानमा बसिरहेका नागरिकलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै सुरक्षित आवास हरेक नागरिकको अधिकार भएको बताए।
सुकुम्बासीका नाममा हुने राजनीतिक स्वार्थ र गलत गतिविधिलाई अब निरन्तरता दिन नहुने भन्दै कर्कीले वास्तविक सुकुम्बासीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध हुनुपर्नेमा जोड दिए।
उनले रास्वपाको प्रतिबद्धता पत्रमा समेत सुकुम्बासी व्यवस्थापनको विषय समेटिएको उल्लेख गर्दै सरकारले अहिले गरिरहेको काम सार्वजनिक महत्त्वको विषय भए पनि सदनमा त्यसलाई राजनीतिक स्वार्थअनुसार प्रस्तुत गर्न नहुने धारणा राखे।