भदौ १२, २०८३ शुक्रबार

बेइजिङ, १२ भदौ : चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा आएको प्राकृतिक विपत्तिप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई शुक्रबार समवेदना सन्देश पठाउनुभएको छ । 

हालै चीनको तिब्बत क्षेत्रमा गएको हिमपहिरो र त्यसका कारण नेपालमा भोटेकोशी र त्रिशुली नदीमा आएको बाढी र डुवानका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा व्यापक भौतिक तथा मानवीय क्षति पुगेको थियो । 

आफ्नो सन्देशमा चिनियाँ राष्ट्रपति सीले ‘चीन र नेपालबीचको केरूङ–रसुवा सीमा नाका क्षेत्रमा हालै गम्भीर विपद् आएको, जसले ठूलो जनधनको क्षति पु¥याएको, मानिसहरू बेपत्ता भएका र भौतिक सम्पत्तिको क्षति भएको उल्लेख गर्दै यसबाट नेपाल र नेपाली जनतालाई परेको पिडाले आफुलाई दुःखी बनाएको’ उल्लेख गर्नुभएको छ । 

राष्ट्रपति सीले पीडितहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै शोकसन्तप्त परिवार, घाइते र विपद्ग्रस्त क्षेत्रका जनताप्रति चीन सरकार र आफ्नो तर्फबाट हार्दिक सहानुभूति जनाउनुभएको छ । 

चीन बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार गर्न, प्रभावित व्यक्तिहरूलाई स्थानान्तरण र पुनर्वास गर्न, घाइतेहरूलाई शीघ्र चिकित्सा उपचार प्रदान गर्न, थप हताहतलाई नियन्त्रण गर्न र ठूला विपद् रोक्न हरसम्भव प्रयास गरिरहेको उहाँले बताउनुभएको छ । 

राष्ट्रपति सीले भन्नुभएको छ, “चीन र नेपाल पहाड र नदीहरूले जोडिएका र साझा हित र अनुभव शेयर गर्छन् । चीन नेपालको उद्धार प्रयासहरूमा सक्रिय रूपमा सहयोग गर्न र आफ्नो क्षमताअनुसार समन्वय र सहायता प्रदान गर्न तयार छ ।

दुवै देशका जनता मिलेर विपद्लाई पार गर्न र सकेसम्म चाँडो आफ्ना घरहरू पुनर्निर्माण गर्न सक्षम हुने पनि  राष्ट्रपतिलाई पठाएको सन्देशमा उहाँले विश्वास व्यक्त गर्नुभयो । 

यसअघि,  चिनियाँ प्रधानमन्त्री ली छियाङले पनि शुक्रबार नै नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई समवेदना सन्देश पठाउनुभएको थियो ।