तेहरान, १२ भदौ : वासिङ्टनले तेहरानविरुद्ध दबाबले काम नगर्ने कुरा बुझ्यो भने संयुक्त राज्य अमेरिकासँगको कूटनीति फेरि सही दिशामा आउन सक्ने इरानले बताएको छ।
इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले शुक्रबार युद्ध अन्त्यका लागि सबैभन्दा भरपर्दो र सहज उपाय भनेको कुटनीतिक छलफल नै भएको भन्दै यसका लागि अमेरिकाले दबाव नभई संवादलाई जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले सामाजिक सञ्जाल एक्समा गरेको पोस्टमा बिहीबार तेहरानमा कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीसँगको भेटवार्तामा ‘रचनात्मक छलफल’ भएको उल्लेख गर्नुभयो ।
अराघचीले लेख्नुभयो, “कूटनीतिलाई फेरि सही दिशामा ल्याउनु असम्भव छैन । यो दबाब काम गर्दैन भन्ने अमेरिकाको एक साधारण तथ्यको बुझाइमा निर्भर गर्छ ।”
उहाँले संयुक्त राज्य अमेरिकालाई विश्वास निर्माण गर्न, सम्मानपूर्वक बोल्न, इरानका अधिकारहरू स्वीकार गर्न र देशप्रति आफ्ना प्रतिबद्धताहरू पालना गर्न आह्वान गर्नुभयो ।
जुन १८ मा संयुक्त राज्य अमेरिका र इरानले यस क्षेत्रमा युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । उक्त पत्र अन्तर्गत दुवै पक्षले अगस्ट १७ मा सकिने ६० दिनभित्र अन्तिम सम्झौताका लागि वार्ता गर्ने तालिका थियो । तर गत महिना दुई देशबीच तनाव बढेपछि वार्ताको भविष्य अस्पष्ट बनेको छ।
यस महिनाको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने कुनै पनि देशविरुद्ध ‘कहिल्यै नलिइएको सबैभन्दा कठोर आर्थिक कारबाही’ गरिने घोषणा गर्नुभएको थियो ।
उहाँले यसलाई ‘अभूतपूर्व स्तरको आर्थिक युद्ध र नाकावन्दी’ भन्नुभएको थियो ।