महेन्द्रनगर, २९ कात्तिक: कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत राष्ट्रिय खेकुलद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशबाट आज थप ४८ खेलाडी छनोट भएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरमा जारी विभिन्न आठ वटा खेलमा आज भएको खेलहरुमा फुलकन्ट्याक्ट कराते, आइटिएफ कराते, जुडो र सितोरियो करातेका विभिन्न तौल समुहबाट ४८ खेलाडी सुदूरपश्चिमबाट छनोट भएका हुन् । शनिबार महेन्द्रनगरमा सम्पन्न कुस्ती खेलको प्रदेश स्तरीय छनोटबाट महिला र पुरुष गरी १८ खेलाडी छानिएका थिए ।
महेन्द्रनगरमा भएको खेलमा करातेमा एकल र समुह कातातर्फको स्वर्ण बिजेता खेलाडीहरुले आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने कराते प्रशिक्षक वीरेन्द्रबहादुर चन्दले जानकारी दिए ।
“काता बाहेक फाइनल खेल सोमबार जारी रहने छन्”, उनले भने, “आज भएको खेलमा पुरुष एकल कातातर्फ कञ्चनपुरका नागेश थलाल, महिला एकल कातातर्फ कञ्चनपुरकै पार्वती पार्कीले स्वर्ण जित्दै दशौँ राष्ट्रियको यात्रा तय गरेका छन् ।” त्यस्तै करातेतर्फ नै पुरुष समुह कातामा कैलाली र महिला समुह कातातर्फ कञ्चनपुरका खेलाडीले स्वर्ण जितेका छन् ।
त्यसैगरी फुलकन्ट्याक्ट करातेतर्फ पनि सुदूरपश्चिमबाट १४ खेलाडी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएको जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
फुलकन्ट्याक्ट करँतेमा बझाङका ८, कञ्चनपुरका ५ र बाजुरा एक खेलाडी छनोट भएका जिल्ला खेलकुद समितिले जनाएको छ । यसैगरी जुडोतर्फ कैलालीका ४, कञ्चनपुरका २ र बैतडीका एक खेलाडी छनोट भएका छन् ।
त्यसैगरी आइटिएफ करातेतर्फ २३ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् । जसमा कञ्चनपुरका १७, बैतडीका ५ र कैलालीका एक खेलाडी छनोट भएका अध्यक्ष सिंहले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगिता शनिबारदेखि धनगढी र महेन्द्रनगर र डडेल्धुरामा एकसाथ सुरु भएको छ । जसमा कञ्चनपुरमा तेक्वान्दो, पुरुष र महिला कवड्डी, ह्याण्डबल, हक्की तेक्वान्दो लगायतका खेलहरुको छनोट पनि जारी रहेको छ ।
कञ्चनपुरका भइरहेका छनोट खेलको संयोजकको जिम्मेवारी सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य लिला सिंह बोहरालाई दिइएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमबाट ३० खेलका सात सय ४४ खेलाडी सहभागी हुने प्रदेश खेलकुद परिषद् धनगढीले जनाएको छ ।