कात्तिक २९, २०८३ आइतबार

रासस

कास्की, २९ कात्तिकः  पोखरा रङ्गशालाको क्रिकेट मैदानमा जारी गण्डकी प्रदेशस्तरीय ‘पीएम कप’ महिला टी–२० छनोट क्रिकेट प्रतियोगिताको आजको खेलमा कास्की र नवलपुर विजयी भएका छन् ।

    प्रतियोगिताको दोस्रो दिन लिग चरणको पहिलो खेलमा कास्कीले बागलुङलाई ८९ रन र दोस्रो खेलमा नवलपुरले पर्वतलाई ३२ रनले पराजित गरेका हुन् । प्रतियोगितामा कास्कीले लगातार दोस्रो जित निकालेको छ । कास्कीले शनिबार नवलपुरमाथि जित निकालेको थियो । 

    कास्कीले दिएको १५० रनको लक्ष्य पछ्याएको बागलुङ निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ६० रनमा समेटियो । बागलुङका लागि अनुजा सुनारले सर्वाधिक १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    कास्कीकी सिमाना रेग्मीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिइन् । उनले चार ओभरमा एक मेडनसहित १० रन खर्चिइन् । सुशीला डिम्डुङ तामाङले दुई विकेट लिइन् । 

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कास्कीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । कास्कीका लागि चन्द्रमाया बरालले सर्वाधिक ४१ रनको योगदान दिइन् । उनले ३४ बलमा चार चौका प्रहार गरिन् । कप्तान सिर्जना पौडेलले २५, रेखा तामाङले १३ र ओपनर विनिता सिग्देलले ११ रन बनाए ।

    बागलुङकी अनुजा सुनारले तीन विकेट लिँदा कप्तान संरचना घिसिङले दुई तथा कुसुम राईले एक विकेट लिइन् ।

    दोस्रो खेलमा नवलपुरले पर्वतलाई ३२ रनले पराजित गर्यो । नवलपुरले दिएको ७६ रनको लक्ष्य पछ्याएको पर्वत १३ ओभरको पहिलो बलमा ४३ रनमा अलआउट भयो । पर्वतका लागि ओपनर दीपिका सापकोटा र सुशीला भट्टराईले समान १० रन बनाए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    नवलपुरकी निहारिका शर्माले चार ओभरमा १४ रन खर्चेर सर्वाधिक तीन विकेट लिइन् । कप्तान श्रेया शर्मा र शिक्षा गिरीले समान दुई तथा आयुष्मा चापागाईँले एक विकेट लिइन् ।
     
    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नवलपुरले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै ७५ रन बनाएको थियो । उसका लागि वर्षा विकले सर्वाधिक २५ रन बनाइन् । उनले ४१ बलमा चार चौका प्रहार गरिन् । ओपनर धनकुमारी क्षेत्रीले १२ रन जोडिन् । पर्वतकी दीपिका सापकोटाले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा आठ रन खर्चेर चार विकेट लिइन् । जीविका क्षेत्री र कप्तान कृषा कँडेलले समान एक विकेट लिए ।

    प्रतियोगिताबाट छनोट हुने खेलाडीले आगामी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने आयोजक प्रादेशिक क्रिकेट सङ्घ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो ।

    त्यसैगरी, मङ्सिर तेस्रो सातादेखि पोखरामा आयोजना हुने ‘पीएम कप’ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि पनि यसै छनोट प्रतियोगिताको प्रदर्शनका आधारमा प्रदेश टोली निर्माण गरिनेछ ।
 
    ‘लिग प्रणाली’मा सञ्चालन भइरहेको प्रतियोगिता आगामी मङ्सिर २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा घरेलु टोली कास्कीसहित स्याङ्जा, पर्वत, बागलुङ र नवलपुरको टोली सहभागी रहेको छ ।