माघ ५, २०७८ बुधबार

यो वर्ष धेरै बलिउड अभिनेता र अभिनेत्रीको बिहे भयो।

कटरिना कैफ-विक्की कौशल, वरुण धवन-नताशा दलाल, राजकुमार राव-पत्रलेखा पल, अंकिता लोखन्डे-विक्की जैन, यमी गौतम-आदित्य धर केही यस्ता जोडी हुन् जसले यस वर्ष आफ्नो प्रेम सम्बन्धलाई बिहेमा परिणत गरे। 

तर यही वर्ष आफ्नो वैवाहिक सम्बन्धलाई टुंग्याउने बलिउड कलाकार पनि धेरै छन्। 

यहाँ हामीले त्यस्तै पाँच चर्चित जोडीको डिभोर्स उल्लेख गरेका छौं।

१. आमिर खान र किरण रावः

आमिर खान र किरण रावले यसै वर्ष सम्बन्धविच्छेद गर्ने घोषणा गरेका हुन्। दुवैले संयुक्त विज्ञप्ति जारी गर्दै अलग्गिने घोषणा गरेका थिए। 

विज्ञप्तिमार्फत् उनीहरूले भनेका थिए, 'हामीले यो १५ वर्षमा जीवनभरका खुसी, अनुभव एकअर्कामा बाँड्यौं। हाम्रो सम्बन्धमा विश्वास, सम्मान र प्रेम अझै छ। अब हामी जीवनको अर्को अध्याय सुरू गर्न चाहन्छौं। तर पति र पत्नी भएर होइन, आमा-बुवा भएर, परिवारको रूपमा।'

उनीहरूका १५ वर्षीय छोरा छन्।

उनीहरूले घोषणा गर्नु केही समयअघि नै अलग हुने तय गरेको पनि बताएका थिए।

'हामीले केही समय पहिला नै अलग हुने विचार गरिरहेका थियौं। अब यसलाई औपचारिकता दिँदैछौं,' विज्ञप्तिमा उनीहरूले भनेका थिए, 'हामी हाम्रो छोरा आजादप्रति समर्पित छौं। उसलाई मिलेर पालनपोषण गर्नेछौं। हामी फिल्म, पानी फाउण्डेसन र अन्य परियोजनामा पनि सहकार्य गर्नेछौं।'

२. सामन्था रूथ प्रभु र नागा चैतन्यः

तेलुगू र तमिल फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रूथ प्रभु र अभिनेता नागा चैतन्यले पनि यसै वर्ष डिभोर्स गरे।

उनीहरूले विवाहको चार वर्षपछि सम्बन्धविच्छेदको घोषणा गरेका हुन्। 'द फ्यामिली म्यान २' वेबसिरिजमार्फत् बलिउड पनि प्रवेश गरेकी सामन्थाले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै सम्बन्धविच्छेद गर्ने घोषणा गरेकी हुन्। 

उनले पोस्टमा भनेकी थिइन्, 'हामी चाँडै नै अलग हुँदैछौं। मैले धेरै सोच विचार गरेर नै आफ्नो बाटो लाग्नको लागि पति र पत्नीको रूपमा अलग हुने फैसला गरेकी छु। हामी भाग्यशाली छौं कि एक दशकको मित्रता नै हाम्रो सम्बन्धको मूल थियो। हामीलाई विश्वास छ हामीबीच एक विशेष सम्बन्ध रहनेछ। हामी शुभचिन्तक, प्रशंसक र मिडियालाई हाम्रो यो कठिन समयमा साथ र सहयोग गर्न अनुरोध गर्न चाहन्छौं।'

बलिउडबाट पाएको मायापछि उनी आफ्नो अभिनय करिअर अझै अगाडि बढाउन चाहन्छिन्।

यता नागा चैतन्य पनि आमिर खानको नयाँ फिल्म 'लाल सिंह चड्डा' बाट बलिउडमा प्रवेश गरेका छन्। योसँगै उनको बालबच्चा जन्माएर परिवार ठूलो बनाउने चाहना छ।

यही फरक चाहनाको कारण सामन्था र नागाबीच मनमुटाव भएको बताइएको छ। सामन्था र नागाको पहिलो भेट सन् २००९ मा रिलिज भएको फिल्म ुये माया चेसावेु को सेटमा भएको थियो। त्यो बेलादेखि नै उनीहरूको सम्बन्ध राम्रो थियो र दर्शकहरूले पनि यो जोडीलाई खुबै मन पराएका थिए।

त्यो बेला उनीहरूबीच राम्रो बुझाइ भए पनि उनीहरू सम्बन्धमा बसेनन्। त्यो समय नागा अभिनेत्री श्रुती हसनसँग प्रेम सम्बन्धमा थिए। सामन्था पनि सिद्धार्थकी प्रेमिका थिइन्।

तर सन् २०१३ तिर नागा र श्रुतीको ब्रेकअप भयो। सामन्था र सिद्धार्थ पनि एकअर्काबाट टाढा भए। ब्रेकअपपछि सामन्था र नागा केहीसमय एकअर्कासँग प्रेम सम्बन्धमा रहे। उनीहरूले सन् २०१७ मा वैवाहिक सम्बन्ध गाँसेका थिए।

३. हनी सिंह र सालिनी तलवारः

र्‍यापर हनी सिंह र उनकी श्रीमती सालिनी तलवारको पनि यसै वर्ष डिभोर्स भयो। सालिनीले हनीविरुद्ध शारीरिक र मानसिक दुर्व्यवहार गरेको मुद्दा पनि दायर गरेकी छन्।

हनी र सालिनीले सन् २०११ मा बिहे गरेका थिए। 

उनीहरूको अहिले पनि अदालतमा मुद्दा चलिरहेको छ। सालिनीले हनीविरूद्ध घरेलु हिंसा र धोकाधडीको आरोप लगाएकी छन्। उता हनीले यी सबै कुरा नकार्दै आएका छन्।

४. धनुष र ऐश्वर्यः

भारतीय अभिनेता धनुष र उनकी पत्नी ऐश्वर्यले यही सोमबार मात्र आफूहरू अलग हुने बताएका हुन्।

दक्षिण भारतीयका साथै बलिउड फिल्ममा पनि राम्रा अभिनेता मानिने धनुषले सामाजिक सञ्जालमार्फत् ऐश्वर्यसँग आफ्नो वैवाहिक सम्बन्ध टुंग्याएको जानकारी दिएका हुन्।

धनुषकी पत्नी ऐश्वर्य चर्चित अभिनेता रजनीकान्तकी छोरी हुन्। १८ वर्ष पहिले धनुष र ऐश्वर्याको बिहे भएको थियो। उनीहरूका १२ र १६ वर्षका दुई छोरा छन्।

धनुषले ट्विटरमा एउटा लामो नोट राख्दै आफूहरूले अलग हुने फैसला गरेको बताएका हुन्। 

पोस्टमा धनुषले लेखेका छन्, 'हामी एक साथी, एक जोडी र आमा(बुवाका रूपमा पछिल्ला १८ वर्षदेखि साथ रह्यौं। हामी एकअर्काका शुभचिन्तक हौं। यो यात्रामा हामीले एकअर्कालाई बुझ्यौं, समझदारी अपनायौं। आज हामी त्यहाँ आइपुगेका छौं जहाँबाट हाम्रो बाटो अलग हुँदैछ। ऐश्वर्या र मैले अलग हुने फैसला गरेका छौं। हामी अलग अलग नै बस्दा ठीक हुन्छ भन्ने कुरा बुझ्न हामीलाई केही समय लाग्यो।'

धुनषले थप लेखेका छन्, 'कृपया हाम्रो फैसलालाई सम्मान गरिदिनुहोस् र यसलाई सल्टाउनका लागि हामीलाई चाहिने गोपनीयता दिनुहोस्।'

अभिनेता रजनीकान्तकी जेठी छोरी ऐश्वर्यले पनि यही पोस्ट आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छन्।

उनले क्याप्सनमा लेखेकी छन्- कुनै क्याप्सनको आवश्यकता छैन। मात्र तपाईंको समझदारी र प्रेम आवश्यक छ१

उनीहरूको बिहे हुँदा धनुष मात्र २१ वर्षका थिए भने र ऐश्वर्या २३ वर्षकी थिइन्।

निर्मता कस्तूरी राजाका छोरा धनुष अभिनयका साथै निर्देशन र निर्माणमा पनि सक्रिय छन्। यसबाहेक उनी गायक र स्क्रिनप्ले लेखक पनि हुन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनले अहिलेसम्म ४६ फिल्मका काम गरिसकेका छन्। यो क्रममा उनले एक फिल्म फेयर अवार्ड, ४ नेसनल फिल्म अवार्ड गरेर १३ वटा ठूला पुरस्कार पाइसकेका छन्।

उनी प्रशंसकहरूले खुबै रूचाएका कलाकार हुन्। धनुष र ऐश्वर्याको सम्बन्ध टुटेको खबरले दुःख लागेको भन्दै प्रशंसकहरूले सामाजिक सञ्जालमा लेखेका छन्। 

५. नितिश भारद्वज र स्मिता गेटः

अभिनेता नितिश भारद्वजले पनि १२ वर्षदेखिको आफ्नो वैवाहिक सम्बन्ध टुंग्याउने भएका छन्। मंगलबार मात्र यसबारे सार्वजनिक भएको हो।

नितिश चरित्र अभिनेताका रूपमा नाम कहलिएका कलाकार हुन्। तर उनलाई बिआर चोपडाको 'महाभारत' श्रृंखलामा कृष्णको भूमिकाकै लागि अहिलेसम्म चिनिन्छ। 

नितिशले बम्बई टाइम्ससँगको अन्तर्वार्तामा पत्नी स्मिता गेटसँग सम्बन्ध विच्छेदको जानकारी दिएका हुन्। 

उनका भनाइ उद्धृत गर्दै बलिउड लाइफले लेखेको छ, 'म यति मात्र भन्न सक्छु कि कहिलेकाहीँ डिभोर्स मृत्युभन्दा बढी पीडादायी हुन्छ। तपाईं भाँचिएको हाड लिएर बाँचेजस्तो हुनुहुन्छ।'

उनले थप भनेका छन्, 'अझ सबभन्दा धेरै त बच्चाहरूलाई पीडा हुन्छ। परिवार टुट्दा उनीहरूलाई हुने पीडा बयान गर्न सकिँदैन। त्यसैले दुईमध्ये एक मात्र अभिभावकले भए पनि सकेसम्म यो पीडा कम गराउन जरूरी हुन्छ।'

उनले बम्बई उच्च अदालतमा डिभोर्सका लागि आवेदन दिएका छन्। नितिश र स्मिताका जुम्ल्याहा छोरीहरू छन्। 

नितिश र स्मिताको सन् २००९ मा बिहे भएको थियो। १२ वर्ष लामो सम्बन्ध उनीहरूले किन टुंग्याए भन्नेबारे जानकारी छैन।

नितिशको यसअघि फेमिना पत्रिकाकी तत्कालीन सम्पादन विमला पाटिलकी छोरी मनीषा पाटिलसँग बिहे भएको थियो। सन् १९९१ मा बिहे गरेका उनीहरू सन् २००५ मा अलग भएका थिए। उनीहरूका एक छोरा र छोरी छन्।

यसपछि नितिशले आइएस अफिसर स्मिता गेटसँग बिहे गरेका थिए। ५८ वर्षीय नितिश सत्तारूढ भाजपासँग पनि आवद्ध छन्।