साउन २७, २०८३ बुधबार

काठमाडौं । नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्ने उद्देश्यसहित आयोजना हुन लागेको इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड)–२०२६ को तयारी तीव्र बनाइएको छ। अवार्डको तेस्रो संस्करण आगामी शनिबार काठमाडौंको याक एण्ड यति होटलमा आयोजना हुँदैछ।

इन्फा इभेन्ट्स यूके र इन्फा इभेन्ट्स नेपालको सहकार्यमा हुन लागेको यसपटकको समारोह विशेष रहने आयोजकले जनाएको छ। इन्फा अवार्ड पहिलोपटक नेपालमा आयोजना हुन लागेको हो। यसअघि यसको पहिलो र दोस्रो संस्करण बेलायतको लण्डनमा सम्पन्न भएका थिए।

अवार्ड समारोहमा नेपाली चलचित्रका विभिन्न विधामा उत्कृष्ट काम गर्ने कलाकार तथा चलचित्रकर्मीलाई सम्मान गरिनेछ। पुरस्कार वितरणसँगै कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन सांगीतिक, नृत्य तथा हास्य प्रस्तुतिसमेत समावेश गरिएको छ।

समारोहमा एलिशा शर्मा, रिहान गिरी, उषा उप्रेती, पल शाह, बाबुल गिरी, समर्पण लामा, कविता नेपाली, झुमा लिम्बु, खुशी कार्की, तेरिया फौजा मगर, दिया मास्केलगायत कलाकारले प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ। यस्तै, कमेडी दरबारको टोलीले समेत हास्य प्रस्तुति दिनेछ।

अवार्ड समारोहलाई व्यवस्थित र आकर्षक बनाउन स्टेज निर्माण तथा सजावट, ध्वनि, प्रकाश, प्राविधिक व्यवस्थापन र अतिथि सत्कारलगायतका कामलाई आयोजकले अन्तिम रूप दिइरहेको छ।

इन्फा अवार्डको तयारीमा इन्फा यूकेका अध्यक्ष उमेशराज मोक्तानसहित बोर्ड निर्देशकहरू टंक भट्टराई, पाल्देन लामा, आशिषराज पन्त, राज पाण्डे र सुष्मा पौडेल काठमाडौंमा सक्रिय छन्। त्यस्तै, इन्फा नेपालका अध्यक्ष सुनील श्रेष्ठ तथा बोर्ड निर्देशकहरू मनिष कार्की र मनोज केसी पनि तयारीमा जुटेका छन्।

आयोजकका अनुसार इन्फा अवार्डको उद्देश्य उत्कृष्ट कलाकार तथा चलचित्रकर्मीलाई सम्मान गर्नुमा मात्र सीमित छैन। नेपाली फिल्म, भाषा, कला तथा संस्कृतिलाई विश्वस्तरमा चिनाउने र अन्तर्राष्ट्रिय समुदायसँग जोड्ने प्रभावकारी माध्यमका रूपमा अवार्डलाई स्थापित गर्ने लक्ष्य राखिएको छ।

प्राइम टेलिभिजन एचडी आधिकारिक प्रसारण साझेदार

यसैबीच, इन्फा अवार्ड–२०२६ को आधिकारिक प्रसारण साझेदारका रूपमा प्राइम टेलिभिजन एचडीसँग सम्झौता गरिएको छ।

काठमाडौंको अनामनगरस्थित स्टार बोसमा आयोजित कार्यक्रममा इन्फा इभेन्ट्स यूकेका अध्यक्ष उमेशराज मोक्तान र प्राइम टेलिभिजनकी निर्देशक एलिजा गौतमबीच समारोहको प्रत्यक्ष प्रसारणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर तथा आदान–प्रदान भएको हो।

सम्झौताअनुसार आगामी शनिबार याक एण्ड यति होटलमा हुने इन्फा अवार्ड–२०२६ समारोह प्राइम टेलिभिजन एचडीमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ।

अवार्ड समारोहमा चलचित्र क्षेत्रमा योगदान पुर्‍याउने कलाकार तथा प्राविधिकसहित विभिन्न विधाका चलचित्रकर्मीलाई सम्मान गरिनुका साथै दर्शकलाई मनोरञ्जन प्रदान गर्ने विविध प्रस्तुति रहने आयोजकले जनाएको छ।