माघ ६, २०७८ बिहिबार

फ्रान्सेली अभिनेता गेस्पर्ड उलीलको ३७ वर्षको उमेरमा दक्षिणपूर्वी फ्रान्समा एक स्कीइङ दुर्घटनामा निधन भएको छ । गेस्पर्ड मार्वलको आगामी सिरिज ‘मून नाइट’मा देखिँदै थिए । गेस्पर्ड ‘हेनिबल राइजिङ’मा हेनिबल लेक्टरको भूमिकाका लागि लोकप्रिय थिए ।

गेस्पर्ड फिल्मका अलावा विज्ञापनको दुनियाँमा पनि चिनिएका नाम थिए । उनको आकस्मिक निधनले फ्यान तथा फिल्मकर्मी दुःखी भएका छन् ।

अभिनेताको सह–अभिनेता रहेका फ्रान्सेली अभिनेता जीन डुजार्डिनले इन्स्टाग्राममा एक क्याप्सन लेख्दै गेस्पर्डको तस्वीर पोस्ट गरेका छन् । जसमा एक कालो हृदय भएको इमोजीका साथ ‘गेस्पर्ड’ लेखिएको छ ।

फ्रान्सेली संस्कृति मन्त्री रोजलिन बाचेलटले बुधबार एक ट्वीट गर्दै गेस्पर्डलाई ‘एक असाधारण अभिनेता’ भनेका छन् । फ्रान्सेली प्रधानमन्त्री जीन कास्टेक्सले गेस्पर्ड फिल्मसँगै ठूलो भएको र फिल्म पनि गेस्पर्डसँगै ठूलो भएको उल्लेख गरेका छन् । उनले फिल्म र गेस्पर्डले एकापसमा पागलपनका रुपमा प्रेम गर्ने गरेको दाबी गरेका छन् ।