बैशाख ३०, २०७९ शुक्रबार

काठमाडौं- शुक्रबार बिहान ७ बजेदेखि स्थानीय निर्वाचन २०७९ को मतदान शुरु भएको छ। कलाकारले पनि आफ्नो मताधिकारको प्रयोग गरेका छन्। जसमा केही कलाकारले पहिलो पटक मतदान गर्दैछन्। 

महानायक राजेश हमालले काठमाडौंको लैनचौरमा मतदान गरेका छन्। मतपत्रको राम्रोसँग अध्ययन गरेर मात्रै मताधिकारको प्रयोग गरेको बताउने उनले आफ्नो प्रतिनिधि चुन्ने काम भएकाले निर्वाचन सबैका लागि निकै महत्त्वपूर्ण रहेको पनि जनाए। 

मतदाताको काम भनेको मतदान गर्ने मात्रै नरहेको र प्रतिनिधि रुपमा उभिएकाहरूले जनताको नेता नभएर कार्यकर्ता भएर काम गर्नुपर्ने बताउँदै उनले भने, 'उत्साहित छौँ तर अझै उत्साहित तब हुन्छौँ जब हाम्रो मतको कदर गर्दै त्यो अनुरुप काम गर्नुहुन्छ। नेता भएर होइन जनताको कार्यकर्ता भएर काम गर्नुहुन्छ। जनताको काम भोट गर्ने मात्रै नभएर भोट गरेपछि सही तरिकाले काम गर्नुभयो कि भएन भनेर बुझ्ने पनि हो। हामीले खबरदारी गरिराख्नुपर्ने हुन्छ।' साथै भविष्यमा राजनीतिमा प्रवेश गर्दिनँ भन्न नसकिने पनि उनले बताए। 

त्यस्तै वरिष्ठ कलाकार हरिवंश आचार्यले पनि काठमाडौं बुढानिलकण्ठबाट मतदान गरेका छन्। जनताले आफ्नो प्रतिनिधि चयन गर्ने क्रममा धेरै कुरामा ध्यान दिनुपर्ने र योग्य उम्मेदवारलाई भोट हाल्नुपर्ने उनले जनाए। 

काठमाडौंको चावहिलबाट मतदान गरेकी अभिनेत्री रेखा थापाले चुनावपछि नेताले जनतालाई आफ्नो नाकमुख नदेखाउने प्रवृत्ति अन्त्य हुनुपर्ने बताइन्। साथै आफ्नो मताधिकार प्रयोग गर्न पाउँदा खुशी लागेको पनि उनले जनाइन्।

ुचुनावको दिन जनतालाई मालिक जस्तो गरिन्छ तर भोट खसालिसकेपछि चुनाव सकिइसकेपछि आफैंले जिताएको प्रतिनिधिलाई टर्च लाइट बालेर खोज्नुपर्ने स्थिति छ। तर यो पल्ट त्यस्तो हुँदैन भन्नेमा मलाई विश्वास छ।ु अबको चुनावमा पार्टीको निर्णयअनुसार आफूलाई कुनै पदको उम्मेदवारको रुपमा अपेक्षा गर्न सकिने पनि बताइन्। 

त्यस्तै हास्य कलाकार तथा निर्देशक दिपक आचार्यले आफ्नो गृहजिल्ला धनकुटाबाट भोट हालेका छन्। आफू कुनै पनि पार्टीको एक कप चियासमेत नखाइ भोट हाल्न आफ्नो ठाउँ पुगेको र भोलि जनप्रतिनिधिले प्रतिज्ञा गरेअनुरुप काम नगरे कठालो समातेर प्रश्न सोध्ने अधिकार राख्ने उनले बताएका छन्।