भदौ २७, २०७८ आइतबार

काठमाडौं,२७ भदौ ।कमेडी च्याम्पिय सिजन–२ को ग्रान्ड फिनाले असोज २ गते हुँदै छ । कोरोना संक्रमणको त्रासका कारण नियमित सेटमै ग्रान्ड फिनाले हुनेछ । फाइनलमा भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापा पुगेका छन् । उनीहरू फाइनलका लागि प्रस्तुति दिएर भोट माग्न होम टाउन पुगिसकेका छन् । गृह जिल्लामा भोट मागेर उनीहरू ग्रान्ड फिनालेका लागि काठमाडौं फर्किने छन् ।

फाइनलका लागि भोट अपिल गर्दै भरतमणिले आफ्नै गाउँ–समाज र त्यहाँको सामाजिक जीवन शैलीप्रति व्यङ्ग्य गरेका थिए । बिक्कीले अघिल्लो शृङ्खलामा आफूले दिएको प्रस्तुतिप्रति निर्णायकको प्रतिक्रिया र प्रतिस्पर्धीसँगको आफ्नो सम्बन्ध तथा आफूले असअघि दिएको चर्चित प्रस्तुतीलाई लिंक गरेका थिए ।

अर्का प्रतिस्पर्धी सन्तोष थापाले भरतमणि र बिक्कीप्रति  दर्शकको लोभलाग्दो क्रेजेको चेपुवामा आफू पर्दाको व्यङ्ग्यात्मक पीडालाई प्रस्तुतिको विषय बनाएका थिए । सन्तोषको यो प्रस्तुतिलाई निर्णायकले मन पराएका थिए ।

गत सिजनमा प्रत्यक्ष साथ नदिएका नेताहरूले यो पटक भने खुलेरै साथ दिएका छन् । आ–आफ्ना जिल्लाका नेताहरूले प्रतिस्पर्धीलाई साथ दिएका छन् । गोरखाका सन्तोष थापालाई पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको साथ छ । ताप्लेजुङका भरतमणिलाई पूर्व मन्त्री तथा एमाले नेता योगेश भट्टराईको साथ छ । उनलाई पूर्व मन्त्री तथा नेपाली कांग्रेसका युवा नेता गगन थापाको पनि साथ छ । जीपी कोइराला मेमोरियल कलेजले आयोजना गरेको कार्यक्रममा गगनले भरतमणिलाई भोट मागेका हुन् ।  

सिक्किमका बिक्की अग्रवाललाई मुख्य मन्त्री प्रेम सिंह तामाङको साथ छ । बिक्कीलाई मुख्य मन्त्री तामाङले ६ लाख आईसी दिएर सेमिफाइनल अगाडि नै भोटका लागि सहयोग गरेका थिए । अहिले पनि भोटको क्याम्पेनिङमा उनले सहयोग गरिरहेको कमेडी च्याम्पियन निर्देशक विशाल भण्डारी बताउँछन् । 

भरतमणिलाई योगेशले भोटका लागि अपिल नै गरेका छन् । उनले यसअघि नै आफ्नै पहलमा ६ लाख रुपैयाँको पुरस्कारको घोषणा गरिसकेका छन् । उक्त पुरस्कार कमेडी च्याम्पियनको सेटबाट बाहिर आएपछि हस्तान्तरण गर्ने बताइएको छ । भरतमणिले अघिल्लो हप्ता पूर्व युवराज पारस शाहको हुबहु क्यारिकेचर गरेपछि कमेडी च्याम्पियन सिजन–२ को थप हाइप बढेको छ । भरतमणिले शाहको गेटअपसहित नक्कल गरेका थिए ।