बैशाख २३, २०८३ बुधबार

बेइजिङ, २३ वैशाख : पश्चिम एसियामा बढ्दो अस्थिरता र विश्व शक्ति सन्तुलनको बदलिँदो समीकरणबीच इरानले आफ्नो कूटनीतिक सक्रियता तीव्र बनाएको छ । यही सन्दर्भमा इरानका विदेशमन्त्री अब्बास अराघचीले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग उच्चस्तरीय भेटवार्ता गर्दै द्विपक्षीय सम्बन्ध विस्तारदेखि क्षेत्रीय सङ्कटसम्मका विषयमा गहन छलफल गर्नुभएको छ ।

    चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा बुधबार बेइजिङ पुग्नुभएका अराघचीको यो भ्रमणलाई तेहरानको सक्रिय कूटनीतिक पहलका रूपमा हेरिएको छ । इरानको सरकारी प्रसारण संस्था इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आइआरआइबी) का अनुसार, पश्चिम एसियामा तीव्र बन्दै गएको तनाव र अन्तर्राष्ट्रिय घटनाक्रमलाई ध्यानमा राख्दै यो भ्रमण आयोजना गरिएको हो ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जालमार्फत भेटको पुष्टि गर्दै दुवै पक्षले वर्तमान भूराजनीतिक अवस्थाबारे विचार आदानप्रदान गर्ने बताए । अराघचीले पनि आफ्नो भ्रमणलाई ‘विश्वका साझेदारहरूसँग जारी कूटनीतिक परामर्श’ को हिस्सा भएको उल्लेख गर्दै द्विपक्षीय सहकार्य र क्षेत्रीय स्थिरता दुवैमा केन्द्रित रहने बताउनुभयो ।

    बेइजिङको यो भ्रमण अराघचीको हालै सम्पन्न बहु–देशीय कूटनीतिक यात्राको निरन्तरता हो । उहाँले यसअघि पाकिस्तान, ओमान र रुसको भ्रमण गरिसक्नुभएको थियो, जसलाई पश्चिम एसियाली तनावबीच समर्थन जुटाउने इरानको रणनीतिक प्रयासका रूपमा विश्लेषण गरिएको छ ।

    रुसको सेन्ट पिटर्सबर्ग भ्रमणका क्रममा अराघचीले राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नुभएको थियो । रूसी समाचार संस्था तासका अनुसार उक्त भेटमा पुटिनले मध्यपूर्वमा चाँडो शान्ति स्थापनाका लागि रुसले आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । साथै उहाँले इरानी जनताको सार्वभौमसत्ताको पक्षमा ‘साहसिक रूपमा उभिएको’ भन्दै प्रशंसा पनि गर्नुभएको थियो ।

    ती वार्ताहरूमा अराघचीले विशेषगरी संयुक्त राज्य अमेरिका र इजरायल संलग्न गतिविधिलाई ‘युद्ध र आक्रामकता’ को रूपमा व्याख्या गर्दै त्यसबारे चिन्ता व्यक्त गर्नुभएको थियो । पुटिनले रुस इरानको हितको पक्षमा उभिने र क्षेत्रीय शान्ति पुनःस्थापनामा सहयोग गर्ने आश्वासन दिनुभएको बताइएको छ । यसले तेहरान–मस्कोबीचको रणनीतिक निकटतालाई थप स्पष्ट पारेको छ ।

    यसअघि पाकिस्तान भ्रमणका क्रममा अराघचीले त्यहाँका अधिकारीहरूसँग पछिल्ला घटनाक्रम र इरान–अमेरिका सम्भावित वार्ताका सर्तहरूबारे छलफल गर्नुभएको थियो । उहाँले इस्लामाबादमा भएका परामर्शहरूलाई ‘धेरै फलदायी’ भएको बताउनुभएको थियो ।

    त्यसपछि ओमानको राजधानी मस्कटमा भएको भेटवार्तामा समुद्री सुरक्षालाई प्राथमिकता दिइएको थियो । विशेषगरी स्ट्रेट अफ हर्मुजको रणनीतिक महत्त्वबारे छलफल केन्द्रित रहेको थियो । स्ट्रेट अफ हर्मुजलाई विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मार्ग मानिन्छ । इरना समाचार एजेन्सीका अनुसार अराघचीले इरान र ओमान दुवै यस जलघाँटीका तटीय राष्ट्र भएकाले पारस्परिक समन्वय अपरिहार्य रहेको बताउनुभएको थियो ।

    यी सम्पूर्ण कूटनीतिक पहलहरूले महत्त्वपूर्ण समुद्री मार्ग र क्षेत्रीय प्रभावमाथिको नियन्त्रणलाई लिएर संयुक्त राज्य अमेरिकासँग जारी शक्ति प्रतिस्पर्धाको सन्दर्भमा इरानले आफ्ना साझेदारहरूसँग सम्बन्ध सुदृढ पार्ने प्रयास गरिरहेको सङ्केत गर्छन् ।