बैशाख २९, २०८३ मंगलबार

आइन्डोभन (नेदरल्याण्ड), २९ वैशाख: हान्टा भाइरसबाट प्रभावित क्रूज जहाज एमभी होन्डियसमा सवार यात्रु र चालक दलका सदस्य बोकेका दुई वटा  उडानहरू मङ्गलबार नेदरल्यान्ड्सको आइन्डहोभेन सन्य एअरपोर्टमा अवतरण गरेको जनाइएको छ ।  

विदेश मन्त्रालयका अनुसार अष्ट्रेलियाली अधिकारीहरूद्वारा सञ्चालित पहिलो उडानमा छ जना यात्रुहरू थिए  भने, दोस्रो, उडानले लक्जरी क्रूज जहाजबाट २२ जना चालक दलका सदस्यहरू ल्याएको जनाइएको छ ।  जसमा एक जना डच नागरिक र अन्य २१ जना  अन्य राष्ट्रका नागरिक थिए ।

पहिलो जहाज लगभग रातीको १२ः३०  मा अवतरण भएको जनाइउको छ भने यस विमानका छ जना यात्रुहरू अष्ट्रेलिया जाने अपेक्षा गरिएको छ । दोस्रो उडान लगभग १५ मिनेट पछि अवतरण भएको जनाइएको छ । 

सार्वजनिक स्वास्थ्य र वातावरणका लागि डच राष्ट्रिय संस्थानले स्वदेश फर्केका सबै यात्रुहरूको पूर्ण मेडिकल स्क्रिनिङ गरिने बताएको छ भने प्रयोगशाला परीक्षणका लागि विमानस्थलमा सबै आगन्तुकबाट नमूना सङ्कलन गरिनेछ ।


तुरुन्तै घर फर्कन नसक्ने अवस्थामा रहेका चालक दलका सदस्य र विदेशी यात्रुहरूका लागि  होटलको व्यवस्था गरिएको एजेन्सीले जनाएको छ ।

यसैबीच, एमभी होन्डियसको डच अपरेटर ओसनवाइड एक्सपिडिशनले विज्ञप्ति जारी गर्दै  जहाज स्पेनको टेनेरिफ टापुबाट  नेदरल्यान्ड्सको रोटरडाम तर्फको यात्रा गरिरहेको जनाइएको छ । जहाजले यात्रा पूरा गर्न लगभग छ दिन लाग्ने अपेक्षा गरिएको छ भने आइतबारका लागि अस्थायी आगमन निर्धारित गरिएको छ ।