बैशाख २९, २०८३ मंगलबार

इस्लामावाद, २९ वैशाख : पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार प्रहरीको गाडीलाई लक्षित गरी गरिएको वम विस्फोटमा दुई जना प्रहरीसहित सात जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ ।

 प्रहरीका अनुसार यो घटना लक्की मारवत जिल्लामा भएको थियो । उक्त क्षेत्रमा नियमित गस्ती गर्ने क्रममा रहेको प्रहरीको गाडीलाई निशाना बनाएर विस्फोट भएको स्रोतले नाम न छाप्ने सर्तमा बताएको सिन्हुवाले बताको छ ।

विस्फोट भीडभाडयुक्त बजार क्षेत्रमा भएकाले आक्रमण स्थलमा  ठूलो सङ्ख्यामा नागरिकहरू प्रभावित भएको स्रोतले जनाएको छ  । 

अनुसन्धानका लागि उक्त क्षेत्रलाई घेराबन्दी गरिएको जनाइएको छ भने,  विस्फोट पछि बम डिस्पोजल टोली घटनास्थलमा पुगेर विस्फोटको प्रकृति निर्धारण भइरहेको छ ।

घाइतेहरूलाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएको जनाइएको छ, भने अहिलेसम्म कुनै समूहले आक्रमणको दाबी गरेको छैन ।