असोज २८, २०७८ बिहिबार


सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्र भारतीय सिनेमा (बलिउड चलचित्र) छायाङ्कन टोलीले भरिभराउ बनेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको क्षेत्रमा 'उंचाई' नामक बलिउड चलचित्र छायाङ्कन भइरहेको छ ।

असोज २१ गतेदेखि खुम्बु क्षेत्रमा छायाङ्कन सुरु भएको यस चलचित्र असोज ३० गतेसम्म जारी रहने शुटिङ युनिटका गाइड तिलक राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार दृष्य छायाङ्कनका लागि एक सय ५० जना भारतीयसहित चार सय १७ जना सिनेकर्मीको टोली एक हप्तादेखि खुम्बुमा रहेका छन् । भारतीय चर्चित कलाकार अनुपम खेर, अभिनेत्री परिणीति चोपडासहित अभिनेता बोमन इरानी, सारिका हसन लगायतका कलाकार खुम्बुमा रहेका छन् । 

यसअघि यो टोलीले लुक्लामा पाँच दिनको छायाङ्कन सम्पन्न गरिसकेको शुटिङ युनिटका गाइड राईले जानकारी दिनुभयो । उहाँका अनुसार यो टोली असोज ३१ गते काठमाण्डौ हुँदै मनाङ प्रस्थान गर्ने छ । झन्डै साढे दुई घण्टाको यस चलचित्रमा ५५ मिनेट दृश्य नेपालको रहने शुटिङ युनिटले जनाएको छ ।