जेठ १३, २०८३ बुधबार

तेल अविव, १३ जेठ: इजरायली रक्षा बलले गाजामा हमासको सैन्य बलको नयाँ नेता तथा अक्टोबर –७ को नरसंहारको मुख्य योजनाकार मुहम्मद ओदेहको इजरायली आक्रमणमा मृत्यु भएको दावी गरेको छ । 

 इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जको निर्देशनमा  भएको अपरेसनमा ओदेहको  मृत्यु भएको इजरायली प्रधानमन्त्री कार्यालय (पीएमओ) ले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ । 

ओदेहले अक्टोबर –७ को नरसंहारको समयमा हमासको गुप्तचर स्टाफको प्रमुखको रूपमा सेवा गरेको र दुई हप्ता अघि मात्र सैन्य प्रमुखको रुपमा नियुक्त गरिएको जनाइएको छ ।
ओदेह धेरै इजरायली नागरिक र आईडीएफ सैनिकहरूको हत्या, अपहरण र घाइतेको घटनाको लागि पनि जिम्मेवार रहेको जनाइएको छ ।

बेन्जामिन नेतान्याहूले सामाजिक सञ्जाल एक्समा सन् २०२३ अक्टोबर –७ को नरसंहारमा संलग्न सबैलाई हटाउने प्रतिवद्धता पुष्टि गर्नु भएको छ ।

 यसै बीच, इजरायलले कारबाही बढाए पछि दक्षिणी लेबनानमा आफ्नो आक्रमण जारी राखेको अल जजिराले जनाएको छ । दुई वटा हवाई आक्रमण बुर्ज राहलमा भएको थियो,  भने टायर जिल्लाको कवथरियात अल–रुजमा शक्तिशाली आक्रमण भएको रिपोर्ट गरिएको थियो । इजरायली सेनाले श्रीफा सहरमा दुईवटा र टायर जिल्लाको बुर्ज राहलमा एउटा हवाई आक्रमण गरेको जनाएको छ । अस–सवाना सहर मर्जायुन जिल्लाको कब्रिखामा छापा मारेको अल जजिराले जनाएको छ ।

मङ्गलबार दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएको अल जजीराले जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार सेनालाई हेजबुल्लाह विरुद्ध अझै कडा अपे्रसन सञ्चालन गर्न निर्देशन दिनु भएको थियो ।