जेठ १३, २०८३ बुधबार

सिड्नी, १३ जेठ ः अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा पनि वन्यजन्तु बिरामी पर्ने, अस्पताल भर्ना हुने तथा मृत्यु हुने जोखिम उल्लेखनीय रूपमा बढ्ने देखाएको छ । अनुसन्धानले जलवायु परिवर्तनका कारण वन्यजन्तुमाथि गम्भीर खतरा बढ्दै गएको चेतावनी दिएको छ ।

सिड्नी विश्वविद्यालयको नेतृत्वमा गरिएको अध्ययनमा न्यू साउथ वेल्स राज्यका करिब १२ हजार वन्यजन्तुको दुई दशकको स्वास्थ्य अभिलेख विश्लेषण गरिएको थियो । अध्ययनअनुसार औसत तापक्रम २७ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि बिरामी हुने र मृत्यु दर बढ्न थालेको पाइएको छ ।

अनुसन्धानले ३० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा अस्पताल भर्ना हुने वा मृत्यु हुने सम्भावना २५ डिग्रीको तुलनामा १.५ देखि ३.५ गुणासम्म बढी हुने देखाएको छ । वैज्ञानिकहरूले जलवायु परिवर्तनसँगै बढ्दो गर्मीबाट वन्यजन्तुको संरक्षणका लागि तत्काल प्रभावकारी कदम आवश्यक रहेको बताएका छन् ।

अध्ययनमा सबैभन्दा बढी असर उत्तर–पश्चिमी भित्री क्षेत्रमा देखिएको छ, जहाँ बढ्दो तापक्रम र खडेरीका कारण वन्यजन्तुको संख्या तीव्र रूपमा घटिरहेको छ । अनुसन्धानकर्ताहरूका अनुसार रोग, वन विनाश र चरम गर्मीले वन्यजन्तुको जोखिम अझ बढाएको छ ।
अनुसन्धानकर्ता भ्यालेन्टिना मेल्लाले छोटो समयसम्म तातो मौसम सहन सकिए पनि दीर्घकालमा यस्तो अवस्था टिकाउ नहुने भन्नुभयो। उहाँले चेतावनी दिँदै भन्नुभयो,“यदि समयमै संरक्षणका उपाय अपनाइएन भने बढ्दो गर्मीले सङ्कटमा रहेका वन्यजन्तुलाई विलुप्तिको नजिक पु¥याउन सक्छ ।”