माले, १९ जेठ ; माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजुले माल्दिभ्स सरकारले १६ वर्ष मुनिका बालबालिकाहरूलाई साइबर अपराध र अन्य खतराहरूबाट जोगाउन विभिन्न सामाजिक सञ्जालमा पहुँच प्रतिबन्ध लगाउने घोषणा गरेको बताउनुभएको छ ।
साप्ताहिक पत्रकार सम्मेलनमा सोमबार बोल्दै मुइजुले अनलाइन तथा साइवर अपराधबाट बालबालिकाहरूलाई जोगाउनु स्वदेश तथा विदेशमा रहेका अभिभावकहरूका लागि प्रमुख चिन्ताको विषय बनेको बताउनु भएको छ ।
सरकारले नयाँ साइवर नीति तयार गर्दा अष्ट्रेलिया सहित अन्य देशहरूमा लागु गरिएका नियमहरूको अध्ययन गर्ने उहाँले बताउनु भएको छ ।
प्रस्तावित प्रतिबन्धले बालबालिकाका लागि जोखिमपूर्ण मानिने सामाजिक सञ्जालको प्रयोगहरूलाई लक्षित गर्ने मुइजुले बताउनु भएको छ । सरकारले सान्दर्भिक प्रविधि कम्पनीहरूसँग परामर्श गर्ने र सामाजिक सञ्जालका मालिकहरूसँग उनीहरूको सेवाहरू माल्दिभ्सको कानून अनुरूप सम्भव बनाउन समन्वय गर्ने जनाएको छ ।
राष्ट्रपति मुइजुका अनुसार यस उपाय र सर्तकताका लागि विद्यमान साइबर सुरक्षा कानुनमा संशोधन आवश्यक पर्नेछ ।
प्रतिबन्धहरूले बालबालिकाको शिक्षा वा अनलाइनबाट सिक्ने क्षमतामा बाधा नपुग्ने तर सुरक्षित डिजिटल वातावरण सिर्जना गर्न मद्दत गर्ने मुइजुले प्रष्ट पार्नु भएको छ ।
सरकारले निर्धारित नियमहरुलाई छिटै अन्तिम रूप दिने र सार्वजनिक परामर्श पछि एक वर्ष भित्र पुर्ण प्रतिबन्ध लगाउने लक्ष्य राखेको पीएसएम न्यूजले जनाएको छ ।