कात्तिक ८, २०७८ सोमबार

अभिनेता पल शाहले गायिका समीक्षा अधिकारीसँगको सम्बन्धका विषयमा मिडियामा आएको समाचारले आफूलाई स्तब्ध बनाएको बताएका छन् । आफ्नो र समीक्षाको विषयमा आएको समाचारले आफूलाई माया गर्ने दर्शकसमेत दु:खी भएको उनको भनाइ रहेको छ ।

उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै गायिका  अधिकारीसँगको आफ्नो मित्रता र सहकार्य गलत रूपमा प्रयोग भएको बताएका छन् ।

आइतबार गायिका समीक्षा अधिकारीले पनि स्पष्टीकरण सार्वजनिक गरेकी थिइन् ।

यस्तो छ पलको स्टाटस 
नमस्कार,
देश विदेशमा रहनुभएका सम्पूर्ण मेरा दर्शक श्रोताज्यूहरूमा हार्दिक सम्मान अनि धेरै माया । विगत केही दिनदेखि मेरो र गायिका समीक्षा अधिकारीको विषयमा आइरहेका समाचारबाट मलगायत मेरो परिवार अनि मलाई माया गर्नुहुने सिङ्गो दर्शक दीर्घा नै दु:खी बनेको महसुस हामीले गरेका छौँ ।

जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही व्यक्ति समूह कहीँ न कहीँ कुनै न कुनै प्रकारले नजिक हुने गर्छ । यो हामी सबैलाई थाहा भएकै कुरा हो । मेरो पेशा र विधाका कारण म धेरै मान्छेहरूसँग सहकार्य गर्नुपर्ने हुन्छ र मसँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरूमाझ मैले सदैव आफूलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु ।

अरू कलाकारहरूसँग जस्तै र अरूले जस्तै साङ्गीतिक सहकार्य गायिका समीक्षा अधिकारीसँग पनि भएको कुरा यहाँहरूलाई विदितै छ । हुँदै नभएका, गर्दै नगरिएका, विनाआधारका कुराहरूलाई गसिप बनाएर एउटा कलाकार र उसको व्यक्तिगत जीवनमाथि आँच आउने किसिमले लेखिएका झूटा समाचारहरूले मलाई अत्यन्तै दुःखी बनाएको छ । यसरी कसैको व्यक्तिगत प्रतिष्ठा र चरित्र हत्या हुनेगरी बदनाम गर्ने गरी समाचार नबनाइदिनुहुन सम्पूर्ण मिडियाकर्मीज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु ।

मैले सँधै दर्शक श्रोता मेरो घर अनि मिडियालाई आफ्नो परिवार मानेको छु र सदैव मानिरहने छु । यही घर परिवारको माया, आशीर्वाद र शुभेच्छाको कारणले गर्दा नै म यहाँसम्म आइपुगेको छु । मैले जानेर नजानेर कसैको चित्त दुःखाएको छु, भने म यसैपोस्टमार्फत हार्दिक माफी माग्दछु ।

गायिका समीक्षा अधिकारी र मेरो बीचमा भएको मित्रता र सहकार्यलाई अन्य अन्य तथानाम शीर्षक दिएर सिङ्गो पत्रकारितालाई पनि बदनाम गर्ने र हाम्रो चरित्र हत्या हुने कार्य नगरिदिनुहोला ।  धन्यवाद ।