साउन १९, २०८३ मंगलबार

काठमाडौं — पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई गैरकानुनी रूपमा राजस्व छुट दिएको आरोपमा परेको भ्रष्टाचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासले मंगलबार अधिकारीसँग ३ लाख रुपैयाँ धरौटी माग गर्दै छाड्ने निर्णय गरेको हो।

यद्यपि अदालतको आदेशअनुसार धरौटी बुझाए पनि अधिकारी तत्काल जेलमुक्त हुने छैनन्। उनी अन्य मुद्दामा पुर्पक्षका लागि थुनामा रहेकाले हालको अवस्थामा कारागारमै रहनेछन्।