मंसिर ९, २०७८ बिहिबार

 स्टार युथ क्लबको स्थापना दिवसको अवसरमा आयोजित सांगीतिक साँझले सोलुखुम्बुवासीलाई तताएको छ। मंसिर महिनाको चिसो मौसम भए पनि बुधबार राति १ बजेसम्म यहाँका स्थानीय बासिन्दा राष्ट्रिय तथा स्थानीय कलाकारसँग जिल्ला समन्वय समिति सल्लेरीको प्राङ्गणमा रमाइरहेका थिए।

स्टेजमा कलाकारको प्रस्तुति थियो भने प्राङ्गणमा दर्शकको जोसका साथ आ–आफ्नै प्रस्तुति रहेको थियो। यसले पनि कार्यक्रमलाई थप रंगीन बनाएको थियो। राष्ट्रिय कलाकार शेरबहादुर गुरुङको जादुमय प्रस्तुति धेरै दर्शकले रुचाएका थिए।

गुरुङले प्रस्तुतिसँगै विभिन्न जादु देखाउँदा दर्शक आश्चर्यचकित बनेका थिए। उनले पानी सकिएको लोटाबाट पटकपटक पानी खन्याउने, लट्ठीबाट छाता लगायतका सामग्री बनाउने, कपडाको परिकारसँगै फोटो फ्रेमभित्रबाट चरा झिकेर उडाएका थिए।

यस्तै मोडल सृजना राईको नृत्यमा धेरै दर्शकले भिडियो खिच्दै आनन्द लिएका थिए। सोलुखुम्बु सोताङ घर भएकी मोडल राईको नृत्य अन्तिममा भए पनि उत्कृष्ट भएको दर्शकले प्रतिक्रिया दिएका थिए।

कार्यक्रम उपस्थित भिडबाट कोरोनाको त्रासले घरैमा बस्न बाध्य नागरिकलाई मनोरञ्जन समेत आवश्यक थियो भन्ने सन्देश पाइएको पावैका गोविन्द राईले बताए। घरैमा बस्न बाध्य भएकै कारण दर्शकको उपस्थिति बाक्लिएको अनुमान छ। करिब ५ हजारभन्दा बढी दर्शकले समन्वय समितिको प्राङ्गणदेखि वरिपरिको क्षेत्र भरिएको थियो।

सोलुखुम्बु जिल्लाका संघीय सांसद हेमकुमार राई (शूरवीर), थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असीम राई लगायको उपस्थितिले पनि कार्यक्रमको शोभा बढाएको थियो। जिल्लामै पहिलोपटक रात्रिकालीन भलिबल खेल खेलाएको क्लबले सांगीतिक साँझमा पनि उल्लेख्य दर्शक प्राप्त गरेको तेजबहादुर राईले बताए।

क्लबका स्वयंसेवक सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा प्रदान गरेको क्लबका अध्यक्ष नाम्गेल शेर्पाले बताए। कार्यक्रममा आउने ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई छुट्टै बस्ने व्यवस्था गरिनु राम्रो पक्ष भएको सल्लेरीका पासाङ तामाङको भनाइ छ।

सांगीतिक साँझमा राष्ट्रिय कलाकार प्रताप दास, कैलास कार्की, सुनिल कटुवाल, अस्मिता अधिकारी, पूर्ण राई, मनराज बाहिङ, कुमार प्रयास, सनकुमार तामाङ, सृजना राई, केशव कसुर, खगेन्द्र राई, विनोद विक्रम र संगम राईको प्रस्तुति थियो।

स्टार युथ क्लबले आफ्नो स्थापना दिवसको अवसरमा प्रदेश नं. १ महिला तथा जिल्लाभित्रका स्थानीय तह संघसंस्थामा भलिबल प्रतियोगितासँगै सांगीतिक साँझ आयोजना गरेको छ। भलिबल प्रतियोगिताको आज फाइन खेल हुने भलिबलका अन्तरराष्ट्रिय रेफ्री विकास गुरुङले जानकारी दिए।

महिलातर्फ झापा, खोटाङ र ओखलढुंगा सहित ७ र पुरुषतर्फ १३ समूहको सहभागिता थियो।