असार १०, २०७९ शुक्रबार

काठमाडौं: शुक्रबारदेखि तीनवटा नयाँ फिल्मले एकसाथ प्रदर्शन थालेका छन्। नेपाली फिल्म 'घनचक्कर' सहित बलिउड फिल्म 'जुगजुग जियो' र हलिउड फिल्म 'एल्भिस'ले एकसाथ प्रदर्शन थालेका हुन्। 

राज मेहताको निर्देशनमा बनेको फिल्म 'जुगजुग जियो'ले मल्टिप्लेक्समा सबैभन्दा धेरै २५ देखि ५० प्रतिशतसम्म शो पाएको छ। फेमिली कमेडी ड्रामा जनरामा बनेको फिल्ममा अनिल कपूर, वरुण धवन, किएरा अडवानी, नीतु कपूर लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। यतिवेला हलमा प्रदर्शनरत फिल्म मध्येमा दर्शकको चाप पनि जुगजुग जियो मै बढी छ। 

त्यस्तै, बायोग्राफिकल म्युजिकल ड्रामा 'एल्भिस'ले १० देखि १५ प्रतिशतसम्म शो पाएको छ भने नेपाली फिल्म 'घनचक्कर'ले सबै जसो हलमा १० प्रतिशत शो मात्रै पाएको छ। 

गत मे २५ मा कान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको 'एल्भिस' किङ अफ रक एण्ड रोल भनेर चिनिने अमेरिकी गायक एल्भिस प्रिज्लेको जीवनीमा आधारित फिल्म हो। बज लुरमानको निर्देशनमा बनेको फिल्ममा अस्टिन बटलर एल्भिसको भूमिकामा देखिएका छन्। भने टोम ह्यांक्सको पनि मुख्य भूमिका रहेको छ। 

त्यस्तै सस्पेन्स कमेडी जनरामा बनेको नेपाली फिल्म 'घनचक्कर' सबैभन्दा कम शोका साथ प्रदर्शन भइरहेको छ। जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, सलोन बस्नेत, शिशिर भण्डारी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। फिल्मले सहज जीवनको खोजीमा गाउँबाट सहर पसेका दुई बेरोजगार युवाको कथा भन्छ। 

यी बाहेक हलमा अन्य ६ फिल्म प्रदर्शनरत छन्। गत हप्ता प्रदर्शनमा आएको 'चिसो मान्छे' शुक्रबारदेखि दोस्रो हप्तामा प्रवेश गरेको छ। जेठ १३ देखि प्रदर्शनमा आएको 'कबड्डी ४' पाचौँ हप्तामा प्रवेश गरेको छ भने कन्नड फिल्म '७७७ चार्ली' पनि तेस्रो हप्तामा प्रवेश गरेको छ। त्यस्तै 'जुरासिक वर्ल्ड डोमिनियन', 'टप गनः मोवरिक' र 'विक्रम' पनि यतिवेला हलमा छन्।