असार १२, २०७९ आइतबार

काठमाडौं, १२ असार । लोकगायिका दिलमाया सुनारको शव फेला परे पनि त्यो आत्महत्या हो कि हत्या भन्ने विषय रहस्यमय बनेको छ । प्रहरीले उनीसँग लिभिङ्ग टुगेदरमा बस्दै आएका सुरेश श्रेष्ठ नामका युवकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको खुलेको छ ।

युवकले सुनारले आत्महत्या गरेको दाबी गरेका छन् । आफूहरू सँगै सुतेको र रातको समयमा सुनारले सलले पासो लगाएर आत्महत्या गरेको ती युवकको भनाइ रहेको बुझिएको छ । पासो लगाएकी भनिए पनि सल फेला परेको छैन । उनको मोबाइल पनि घटनास्थलमा थिएन ।

सुनारले घटनाअघि फेसबुक र सामाजिक सञ्जालमा रोएको र मार्मिक गीत राखेर पोष्ट गरेकी छिन् । उनले सामाजिक सञ्जालमा लामो सुसाइड नोट पनि लेखेकी छिन् । उक्त नोट उनी आफैले लेखेको हो या होइन भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पतिसँग सम्बन्ध विच्छेद गरी अर्कै युवकसँग सुनार लिभिङ्ग टुगेदरमा थिइन् । उनका छोरा भने सुर्खेतस्थित मामाघरमा छन् । दिलमायाले आफ्नी आमालाई सम्बोधन गरी भिडियो र फेसबुक स्टाटस लेखेकी छिन् । उनले आफू सानैमा मरेको भनेकी छिन् ।

दिलमायाले आफूले धेरै पीडा भोगेको उल्लेख गरेकी छिन् । लोकदोहोरी गाउने उनी गाउँथिन् ।

दिलमायाको फेसबुक स्टाटस पढेर नजिकका कलाकारले मोबाइलमा फोन गर्दा नउठेपछि कोठामा पुगेको कलाकार उदीराम खड्काले सुनाए । उनका अनुसार कोठामा पलङमा पल्टेको अवस्थामा भेटिएकी थिइन् । नाडी छाम्दा नचलेपछि प्रहरीलाई खबर गरेका थिए ।

दिलमायासँग उनको केटा साथी मृत्यु भएको राति सँगै बसेको खुलेको छ । दुवैजना सँगै बसेर मासु र रक्सी खाएको भेटिएको छ । प्रहरीले नियन्त्रणमा लिएको पुरुषले रातको ११ बजे कोठाबाट हिडेको भने पनि उनी ४ बजे गएको खुलेको छ । यसले घटना रहस्यमय बनेको छ ।

दिलमायाले आफ्ना मिल्ने साथीहरूलाई केटा साथी रहेको र विवाह गर्न नमानेको बताउने गरेकी थिइन् । यसकारण हत्या वा आत्महत्या दुरुत्साहन के हो भन्नेमा प्रहरीले अनुसन्धान बढाएको छ । ११ असारको विहानै दिलमाया सुनार मृत भेटिएकी थिइन् ।