माघ २०, २०७९ शुक्रबार

२० माघ काठमाडौँ। द हिडेन ट्रेजर मिस नेपालले– २०२३ को आवेदन खुलाएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले मिस नेपालको आगामी यात्राका लागि आवेदन खुला भएको जानकारी दिए ।

उनले मिस नेपाल २०२३ को फाइनल प्रतियोगिता दुई हजार आठ सय दर्शकको क्षमता भएको ललितपुरको गोदावरीस्थित सनराइज कन्भेसन सेन्टरमा हुने बताए ।

यस्तै, निर्देशक प्रमोद कंशाकारले यस कार्यक्रमअन्तर्गत प्रत्यक्ष एवम् अप्रत्यक्षरूपमा जोडिएका विभिन्न व्यावसायिक तथा प्राविधिक साझेदार संस्थाबारे जानकारी गराउँदै न्यूनतम ५ फिट ३ इन्च उचाइ भएका १८ देखि २७ वर्षका अविवाहित युवतीले आवेदन दिनसक्ने बताए ।

इच्छुक आवेदकसँग नेपाली नागरिकतासहित नेपाली राहदानी हुनुपर्ने प्रावधान पनि राखिएको छ । 

कार्यक्रममा यसअघि ‘मिस नेपाल इन्टरनेशनल २०२२’ को उपाधि जितेकी न्यान्सी खड्का, ‘मिस नेपाल अर्थ २०२२’ को उपाधि जितेकी डा। सरिशा श्रेष्ठ र ‘मिस नेपाल वर्ल्ड २०२२’ उपाधि जितेकी प्रियङ्का रानी जोशी गरी तीन जनाले मिस नेपालमा सहभागी हुँदाको अनुभव सुनाएका थिए ।