माघ २०, २०७९ शुक्रबार

२० माघ काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३२ औं स्थापना दिवसको उपलक्ष्यमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सदाचारसम्बन्धी सचेतनामुलक राष्ट्रव्यापी लोकगीत प्रतियोगिता गरेको छ ।

आयोगले गरेको कार्यक्रममा विभिन्न चरणबाट छानिएका १५ समूहले शुक्रबार अन्तिम प्रतिष्पर्धामा भाग लिएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका आयुक्त डा. हरि पौडेलले आयोगले भ्रष्टाचार न्युनकिरण सम्बन्धी सचेतनामुलक प्रतियोगिताका माध्यमबाट आम जनतालाई सचेत गराएको बताउनुभयो ।

उहाँले भ्रष्टाचार नियन्त्रणका लागि बनेका कानूनको आवश्यक पालना र न्युनिकरणलाई ध्यानमा राखेर आम जनतामा सचेतना फैलाउन लोकदोहोरीमार्फत उजागर गरिएको बताउनुभयो । उहाँले लोकदोहोरी सबै क्षेत्रमा सुनिने र आम मानिसले सहज रुपमा बुझ्ने भएकाले अख्तियारी सम्बन्धीका नीति नियमहरु गीतका माध्यमबाट प्रस्ततु गरिएको बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले भ्रष्टाचार न्युनिकरणका लागि चालिएका आवश्यक कदमहरुलाई आम जनतामा सहज रुपमा बुझाउन यो कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले जनस्तरमा जनचेतना फैलाउनका लागि गीत, संगीत सहज र उत्कृष्ट माध्यम हुने भएकाले कानून सम्बन्धी जानकारी गीतबाट पाउन सकिने बताउनुभयो ।

सो अवसरमा प्रतियोगी कलाकारहरुले अख्तियारसम्बन्धी सचेतनामुलक गीत गाएर सुनाउनुभएको थियो । समाज परिवर्तनका लागि आवश्यक नीति, नियम, कानूनको बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कलाकारहरुले आफ्ना आफ्ना गीतहरु प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रव्यापी लोकगीत प्रतियोगितामार्फत भ्रष्टाचारविरुद्ध सचेतना र भ्रष्टाचार न्युनिकरणको अभियानलाई जनस्तरसम्म पुर्‍याउने लोकभाकाहरु गीतमा प्रस्तुत थिए ।