असोज ३, २०७८ आइतबार

वि.सं.२०७२ साल असोज ३ गते संविधानसभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको आज  छ वर्ष पुगेर सातौँ वर्ष लागेका अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको छ । यसै दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर हरेक वर्ष संविधान दिवस तीन दिनसम्म देशभर हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । संविधान कार्यान्वयनका क्रममा देखिएका तमाम क्रियाकलापका कारण यो संविधान र प्राप्त उपलब्धिहरू धरापमा पर्ने हो कि भन्ने कतिपयको चिन्ता छ भने कतिपयले यस संविधानप्रति असन्तुष्टि पोख्दै आएका छन् । यस संविधानले नेपाल र नेपालीको स्वत्वलाई बोक्न नसकेको ठूलो सङ्ख्यामा रहेका असन्तुष्ट पक्षहरूको भनाइ छ ।

संविधानको कार्यान्वयन, अपनत्व, यसको सफलता र असफलताबारे 'नेपालमार्ग डटकम'ले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका न्यायिक समिति सदस्य रहेका उत्तरदेव भट्टसँग कुराकानी गरेको छ । उक्त कुराकानीको सम्पादित अंश यहाँ छ ।


१- यसपटक संविधान दिवस कसरी मनाउने योजना छ ?

यसपटक संविधान दिवस नेकपा एमालेले नगरपालिकामा आज युवासंघ र नगर कमिटीद्वारा खुलामञ्च सरसफाइ गरेर बिहानकाे कार्यक्रम गर्‍यो भने साँझ सात बजे झलारी यात्रु प्रतीक्षालयमा दीप प्रज्वलन गरेर मनाउँदै छाैँ ।

२- आजको दिवसलाई तपाईँले कसरी लिनुभएको छ ?

आजकाे दिनलाई मैले व्यक्तिगत रूपमा नेपाली जनताकाे त्याग, वलिदान र संघर्षद्वारा आफ्नाे संविधान आफैले लेखेर जारी गरेकाे ऐतिहासिक दिनका रूपमा लिएकाे छु । यद्यपि याे संविधान सम्झाैताकाे दस्तावेज भएकाले कतिपय कुरामा संशोधन आवश्यक छ । राष्ट्रिय, अन्तरराष्ट्रिय शक्ति सन्तुलन मिलाउँदा तत्कालीन समयमा कतिपय विदेशी एजेण्डाका कुरा संविधानमा जबरजस्ती घुसाइएका छन् भने आफ्नाेपन र माैलिकता छुटेका पनि छन् । समयअनुसार संशोधन हुन जरुरी छ ।

३- संविधानले परिकल्पना गरेको तीन तहको सरकारको तपाईं स्थानीय तहको न्यायिक समितिमा बस्नुभयो, संविधानको अधीनमा रही काम गर्दाको अनुभव कस्तो छ ?

हामी संघीयताकाे पहिलाे प्रयाेगमा छाैँ । तीन तहका सरकार सञ्चालन पहिलाे प्रयाेग हाे । हामीले याे नाैलाे प्रयाेगमा पनि पुरानै शैलीकाे निरन्तरता बढी झल्किने गरी काम गरिरहेका छाैँ कि भन्ने लाग्छ । भ्रष्टाचार, ढिलासुस्ती, भनसुन, पहुँचकाे दबदबाको कमी भएन । स्थानीय तहकाे न्यायिक समिति न्याय क्षेत्रका लागि अत्यन्त राम्राे सुरुवात हाे । अदालतकाे खर्चिलाे, ढिलासुस्तीबाट अन्ययमा परेका जनताले छिटाे, सहज र अपनत्वपूर्ण न्याय पाउनेमा जनता खुसी रहेकाे पाइन्छ । यद्यपि न्यायिक समिति पनि शक्ति सन्तुलन, शक्ति पृथक्करण जस्ता प्रावधानमा कानुनी अस्पष्टताका कारण जुन रूपमा लय समात्नुपर्थ्याे त्याे हुन सकेकाे छैन ।

४- स्थानीय तहले जनसरोकारका मुद्दालाई कसरी सम्बोधन गरेको छ लाग्छ ?

स्थानीय तहले जनसराेकारका विषय जसरी लैजान सक्नुपर्थ्याे त्याे हुन सकेकाे छैन । यद्यपि केही भएकाे छैन भन्ने पनि हाेइन । जनताको घर आँगनकाे सरकार उत्तरदायी, जवाफदेही र भविष्यकाे खाकासहित भ्रष्टाचारमुक्त, सुशासनकाे प्रत्याभूति दिनमा कहीँ न कहीँ चुकेकाे महसुस नागरिकले गरेकाे पाइन्छ । स्थानीय कानुनसमेत बनाएर अघि बढ्नसक्ने सरकारले आफ्नाे तागत पहिचान गर्न सकेन कि भन्ने लाग्छ ।

५- यस संविधानको सफलता या पछिल्लो समय देखिएको उच्छृङ्खलताका कारण प्राप्त उपलब्धि धरापमा परे नपरेका बारे के भन्नुहुन्छ ?

याे संविधान सफल त्यतिबेला हुन्छ जतिबेला कानुनी राज्यको प्रत्याभूति आमतहसम्म पुग्छ । कानुन आफैँमा आकर्षित त हुँदैन, संविधान आफै बाेल्दैन पनि । तर यसकाे प्रयाेगकर्ता र उच्चस्तरका नेतृत्वहरूले आफूअनुकूल व्याख्या गर्ने र आममान्छेहरूले यही हाम्राे नियति हाे भनी ठान्ने चेतना रहेसम्म अपव्याख्या चलिरहने छ । नियत , नीति, नैतिकता ठीक नभएका मान्छेहरू नेतृत्वमा रहेसम्म उच्छृङ्खलता र अराजकता चलिरहन्छ । जबसम्म बदनियत बोकेका नेतृत्व शक्तिमा रहन्छन् तबसम्म संविधानमाथिकाे खतरा रहिरहन्छ ।

६- यस संविधानप्रति जनताले अपनत्वबोध गरेको जस्तो लागेको छ ?

यस संविधानप्रति जनताकाे अपनत्व छ पनि छैन पनि । यो संविधान आफैँमा पूर्णताभित्र अपूर्ण छ । जस्ताे कि, यस संविधानले राष्ट्रिय गाैरव पहिचान गर्न सकेकाे छैन । धार्मिक  तथा साँस्कृतिक पहिचान र त्यसको महिमालाई चिन्न सकेको छैन, सामाजिक परिवेश र यसको सबलतालाई बुझेको छैन । बरु राष्ट्रिय पहिचानबारे माैन बसेकाे छ ।