जेठ १२, २०७९ बिहिबार

सवितु:

कञ्चनपुर । स्थानीय तहअन्तर्गतको निर्वाचनमा नेपाली काँग्रेसबाट शुक्लाफाँटा नगरपालिकाकी उपमेयरमा विजयी कल्पना पन्तले बुधबार कार्यभार सम्हालेकी छिन् । आफ्नो कार्यकालभरि नगरपालिकाले महिलालाई सम्मान गर्ने पन्तले बताइन् ।

"नगरबासीले महिलालाई सम्मान दिनुभएको छ । शुक्लाफाँटाको सेवा गर्ने मौका दिनुभएकाले यो जिम्मवारी पूरा गर्छु," उनले भनिन्, "नागरिकले सेवा र काम हेर्नुहुन्छ । आम नागरिकले आफ्नो घरदैलामा आउने नेता चाहेको हुन्छ । त्यो भूमिका निर्वाह गर्न मैले प्रयास गर्छु ।"


नगरले दिने सेवा सर्वसुलभ र विद्युतीय माध्यमबाट दिनका लागि आफूले प्राथमिकता दिने उनले बताइन् । सेवा प्रवाहलाई सर्वसुलभ गराउने र विकास निर्माणको काममा विज्ञसँगको सल्लाहअनुसार पूर्वाधारको विकास गर्ने उनको योजना छ । यस्तै उनी नगरको आयको प्रक्षेपण, वितरणको खाका र बजेट सीमामा आधारित भई वार्षिक बजेट तथा कार्यक्रममा उत्पादन र रोजगारलाई प्रथमिकतामा राख्ने योजनामा छिन् ।

सामाजिक रूपान्तरणलाई उनले पहिलो प्राथमिकतामा राखेकी छिन् । तत्काल सीमान्तकृत वर्गको सुविधामा आफ्नो ध्यान केन्द्रित हुनेमा उनले जोड दिएकी छिन् ।

विशेषत: महिलाका मुद्दाहरूमा केन्द्रित रहेकी उनले नगरभित्रका विकास निर्माणका योजनाहरूमा पनि महिलाहरूले नै नेतृत्व गरून् भन्ने चाहना रहेको बताइन् । महिलालाई नेतृत्वदायी भूमिकामा सहभागी गराउन नगरपालिकाले महिला सशक्तीकरणका सवालमा विशेष योजनासहित कार्य गर्ने उनले बताइन् ।

अचेल हरदिन घर, परिवार र समाजमा कुनै न कुनै रूपमा नयाँ स्वरूप र प्रकृतिका महिलामाथि हुने हिंसाका घटना देखिन थालेका छन् । यस्ता घटनाको अनुगमन, रोकथाम र पीडितको न्यायमा पहुँचका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताइन् ।

महिला हिंसालाई प्रत्येक घर र समाजबाट अन्त्य गर्न, महिलाको न्यायमा पहुँच र सशक्तीकरणका लागि महिलाको अर्थपूर्ण र नेतृत्वदायी भूमिका अपरिहार्य भएकाले त्यसका लागि आफू प्रतिबद्ध रहेको उनी भन्छिन् ।

पिता उमाप्रसाद जोशी र माता शारदादेवी जोशीकी पुत्री कल्पना वि.सं. २०२८ सालमा विराट्नगरमा जन्मिएकी हुन् । पिता वनका रेन्जर भएकाले जागिरको सिलसिलामा विराट्नगरमा रहँदा उनको प्रारम्भिक शिक्षादीक्षा पनि उतै भयो । सानैदेखि राजनीतिमा चासो राख्ने गरेकी उनको राजनीतिक यात्रा भने विवाहपछि मात्रै सुरु भएको हो ।

सिर्जनशील समाज झलारीअन्तर्गत ३० वटा समूहको नेतृत्व गरेको अनुभव बटुलेकी पन्तले महिलाका सवाल र सुशासनका मामिलामा आफू प्रतिबद्ध रहेको बताइन् । उनी नेतृत्वमा रहेको संस्था अहिले पनि दुईवटा नगरपालिका - शुक्लाफाँटा र कृष्णपुरसँगै लालझाडी गाउँपालिकामा आदिवासी, जनजाति तथा पिछडिएका वर्गको हकहितका लागि क्रियाशील छ ।

लामो समयदेखि काँग्रेसकी क्रियाशील सदस्य रहेकी पन्तले महाधिवेशन प्रतिनिधि भएर पार्टीको उच्च तहमा महिलाको प्रतिनिधित्व पनि गरिन् ।

क्रान्तिकारी नेता भीमदत्त पन्तसँग पनि उनको पारिवारिक साइनो छ । उनका ससुरा सुदर्शन पन्त डडेल्धुरा जिल्लाको तत्कालीन घटालडोटी गाउँ पञ्चायको प्रधानपञ्च पनि भएका थिए । कान्छा ससुरा नवराज पन्त हाल नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश, क्षेत्र नं- २ प्रदेश सभा (क) सचिव हुन् । घर परिवारको साथ र सहयोगले राजनीतिमा अघि बढ्न सजिलो भएको उनले बताइन् । पन्तले आफ्नो कार्यकालमा शुक्लाफाँटाको विकास र समृद्धिका लागि नयाँ ढङ्गले परिकल्पना गरेको बताएकी छिन् ।