चैत १, २०७७ आइतबार

कहिले बालुवाटार, कहिले बुढानीलकण्ठ त कहिले पेरिसडाँडा दौडिरहनुभएको छ । तपाईंहरूको यो दौडधुप केका लागि हो र कहिले सकिन्छ ?

मधेस र थरुहट आन्दोलनका क्रममा लगाइएका मुद्दाहरू खारेज गराउने र रिहाइ गराउने हाम्रो प्रमुख एजेन्डा हो । दोस्रो एजेन्डा, प्रतिगमनकारीहरूको हातबाट मुलुकलाई छुटकारा दिलाउने हो । हामीले सबै दलसँग प्रारम्भिक चरणका छलफल सकाएका छौँ । द्विपक्षीय र त्रिपक्षीय छलफलहरू अझै केही समय लम्बिन्छन् ।

शुक्रबार बुढानीलकण्ठमा भएको कांग्रेस नेताहरूसँगको छलफलमा कांग्रेस, माओवादी र जसपाबीच सहकार्य गर्ने सहमति बनेको हो ?
सहमति बनेको होइन, तर नजिक पुगेको हो । 

माओवादी केन्द्रसँगको छलफलमा के कुरा भयो ?
सहकार्य गर्ने कुरामा छलफल भयो । हामी निकै उत्साहित भएका छौँ । उहाँहरू हाम्रोजस्तै भाषा बोल्नुहुन्छ । हाम्रो र उहाँहरूको भाषा मिलेको छ । 

कांग्रेस, माओवादी केन्द्र र जसपा नै सहकार्य गर्छन् भन्ने निश्चित नै भएको हो ?
राजनीतिमा निश्चित भन्ने केही पनि हुँदैन । तर, सम्भावना धेरै छ ।

ओली सरकारमै सहभागी हुनेबारे पनि तपाईंहरू वार्तामा हुनुहुन्छ, कांग्रेस र माओवादीसँग पनि छलफलमा हुनुहुन्छ । दुईतिर खुट्टा किन राख्नुभएको ? 
ओलीसँगको छलफल सत्तासाझेदारी, समर्थन वा सरकार टिकाउनका लागि होइन । केवल रेशम चौधरीको रिहाइका लागि मात्रै हो । 

के अब ओलीसँग सत्तासाझेदारीका विषयमा कुनै छलफल नै हुँदैन त ?
ओलीसँग सत्तासाझेदारीका कुनै सम्भावना नै छैन । अस्ति (बिहीबार)को भेटमा हामीले ओलीलाई प्रस्ट भनी नै सकेका छौँ । बाँकी विषयमा छलफल त होला, छलफल नै नहुने भन्ने त हुँदैन । 

जसपा भावी सत्तासमीकरणमा ओलीबाहेकका अरू विकल्पमा के निर्णय गर्छ ?
हामी ओलीबाहेकका सबै विकल्पमा खुला छौँ । तर, बल कांग्रेसको कोटमा छ, कता लैजान्छ हेरौँ । हामीले मात्रै त पुग्दैन ।

आफ्नै नेतृत्वको दाबी हो कि होइन ?
हामीले त्यस्तो कुरा अहिले नै गरिसकेका छैनौँ । बाहिर हल्ला चलेको मात्रै हो ।

संसदीय दलको नेता चयनमा पनि समस्या देखियो । के नमिलेको हो ?
भर्खर संसद् पुनस्र्थापना भएको छ । विधान बनिसकेको छैन । यसमा किन हतार गर्नु, बिस्तारै गर्छौँ । 

जसपाको निर्णय सर्वसम्मतको सम्भावना कति छ र कसरी ?
सर्वसम्मतका लागि पहल गर्छौँ, भयो भने राम्रै भइहाल्यो । भएन भने लोकतान्त्रिक विधि–पद्धतिबाट छान्छौँ । 

 

नोट : अन्तर्वार्ता नयाँ पत्रिकाबाट । हेडलाइन परिवर्तन गरिएको हो