जेठ २८, २०८३ बिहिबार

वासिङ्टन, २८ जेठ : मध्यपूर्वमा शत्रुता तीव्र बन्दै जाँदा इरान र संयुक्त राज्य अमेरिका बीच बिहीबार फेरि हवाई आक्रमण र मिसाइल प्रहार आदान–प्रदान भएको छ । कुवेत र बहराइनसहितका संवेदनशील क्षेत्रमा तनाव फैलिँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई रोकिएका वार्ता भङ्ग गरेको भन्दै ‘मूल्य चुकाउनुपर्ने’ चेतावनी दिनुभएको छ ।

    अमेरिकी सेनाले दोस्रो चरणको हवाई आक्रमण सुरु गरेको केही समयपछि इरानले पनि प्रतिक्रिया स्वरूप मिसाइल आक्रमण गरेको बताइएको छ । बहराइनमा रहेको अमेरिकी नौसेनाको पाँचौँ फ्लीट मुख्यालयलाई लक्षित गरेर तनाव थप चुलिएको छ ।

    इरानका विभिन्न सहरहरूमा भएका नयाँ हवाई आक्रमण र त्यसको बदलामा भएका प्रतिआक्रमणले शान्ति वार्ताको प्रयास ठप्प भएको सङ्केत देखिएको छ । इरानले हर्मुज जलघाँटीमा आफ्नो रणनीतिक पकड कायम राख्ने अडान लिएको छ भने लेबनानमा हिजबुल्लाहमाथि इजरायलको निरन्तर आक्रमणले पनि कूटनीतिक प्रयास कमजोर बनाएको बताइएको छ । सोमबारदेखि इरान र इजरायलबीच समेत प्रत्यक्ष आक्रमण भएको उल्लेख छ ।

    यसअघि बुधबार इरानबाट मिसाइल प्रहार र अमेरिकी हवाई आक्रमणबीच पहिलो चरणको ठूलो झडप भएको थियो । त्यस क्रममा बहराइन, कुवेत र जोर्डनमा मिसाइल प्रहार गरिएको र अमेरिकी हेलिकप्टर खसालिएको घटनापछि स्थिति झनै तनावपूर्ण बनेको हो ।

    अमेरिकी सेन्ट्रल कमान्डका अनुसार बिहीबार बिहान सूर्य उदाउनुअघि इरानमा लक्षित हवाई आक्रमणको दोस्रो चरण सम्पन्न गरिएको हो । उक्त आक्रमणमा सैन्य निगरानी, सञ्चार र हवाई रक्षा प्रणालीलाई निशाना बनाइएको बताइएको छ । अमेरिकी वायुसेना, मरीन र नौसेनाले संयुक्त रूपमा सञ्चालन गरेको आक्रमणको क्षतिबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

    आक्रमणपछि तेहरान वरपरका क्षेत्र, साथै बन्दर अब्बास र दक्षिणी भूभागमा शक्तिशाली विस्फोटहरू सुनिएको स्थानीय स्रोतहरूले जनाएका छन् ।

    यसैबीच कुवेतले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । देशका अधिकारीहरूका अनुसार लगातार इरानी आक्रमणको जोखिम बढेपछि उडानहरू अन्य विमानस्थलतर्फ मोडिएको छ । कुवेतको हवाई रक्षा प्रणालीले आकाशमा प्रवेश गरेका केही मिसाइललाई रोक्ने प्रयास गरेको पनि बताइएको छ ।

    हालैका दिनमा कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्यक्ष प्रहार भएको र त्यस घटनामा एक जनाको मृत्यु तथा दर्जनौँ घाइते भएको विवरण पनि सार्वजनिक भएको छ ।

    बहराइनमा पनि मिसाइल चेतावनी साइरन बजाइएको छ । अमेरिकी नौसेनाको पाँचौँ फ्लीट रहेको यस टापु राज्यमा सम्भावित आक्रमणको जोखिमबारे सुरक्षा सतर्कता उच्च पारिएको छ । कुवेत र बहराइन दुवै देशले आफ्नो हवाई रक्षा प्रणालीलाई पूर्ण तयारी अवस्थामा राखेका छन् ।

    क्षेत्रीय रूपमा फैलिँदै गएको यो सैन्य तनावले मध्यपूर्वलाई थप गम्भीर सङ्कटतर्फ धकेलिरहेको र कूटनीतिक वार्ताका प्रयासहरू निरन्तर असफल भइरहेका देखिएको छ ।