पेरिस, फ्रान्स । नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशनले शिवराम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
९ अगस्ट २०२६ मा पेरिसमा आयोजित अधिवेशनले संस्थाको विधानअनुसार निर्वाचन प्रक्रिया सम्पन्न गर्दै भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
निवर्तमान सभापति सुधीर रानाको सभापतित्व तथा संस्थापक सभापति निर्मल अर्यालको दीप प्रज्वलनबाट सुरु भएको उद्घाटन सत्रमा राष्ट्रिय गान प्रस्तुत गरिएको थियो। लोकतान्त्रिक आन्दोलनका ज्ञात–अज्ञात सहिद तथा संस्थापक संरक्षक स्वर्गीय किरणचन्द्र सिंह प्रधानको स्मृतिमा एक मिनेट मौनधारणसमेत गरिएको थियो।
अधिवेशनमा केन्द्रीय निर्वाचन प्रतिनिधि ध्रुवराज पौडेल प्रमुख अतिथि तथा केन्द्रीय पर्यवेक्षक अंकील ओली विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। निर्वाचन संयोजक सुवर्णविक्रम हमालको संयोजनमा निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र विधानसम्मत रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
अधिवेशनमा एनआरएनए फ्रान्सका पूर्वमहासचिव एवं जनसम्पर्क समितिका पूर्वमहामन्त्री कमलबिक्रम केसी, एनआरएनए फ्रान्सका पूर्वउपाध्यक्ष चेनभक्त ढुंगाना, वरिष्ठ पत्रकार दीपक चालिसे तथा संस्थापक कोषाध्यक्ष देविजङ्ग गुरुङलगायत विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
नवनिर्वाचित अध्यक्ष शिवराम भण्डारीको नेतृत्वमा गठित नयाँ कार्यसमितिले फ्रान्समा नेपाली समुदायबीच आपसी एकता, सहकार्य र संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउँदै अघि बढाउने अपेक्षा गरिएको छ।