काठमाडौं, १८ जेठ: राष्ट्रिय दलित पत्रकार सङ्घले आफ्नो दोस्रो महाधिवेशनको अवसरमा पत्रकार, साहित्यकार तथा दलित अधिकारकर्मीलाई पुरस्कार प्रदान तथा सम्मान गरेको छ ।
यहाँ आज आयोजित कार्यक्रममा सङ्घले सामुदायिक सूचना नेटवर्क (सिआईएन) की पत्रकार सुशीला श्रेष्ठसहित पूर्वमन्त्री तथा लेखक मोदनाथ प्रश्रित, दलित अधिकारकर्मी पदम सुन्दास, कमला हेम्च्युरी र पत्रकार ज्ञानेन्द्र महतलाई सम्मान गरेको हो ।
सङ्घले दश हजार राशिको ‘विक्रम परियार स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार दृप्ती विकलाई, ‘देवव्रत परियार स्मृति पुरस्कार’ पत्रकार उत्सव रसाइलीलाई तथा ‘राममाया च्यामे पुरस्कार’ नेपाल पत्रकार महासङ्घका पूर्वसभापति विष्णु निष्ठुरीलाई प्रदान गरेको छ ।
त्यसैगरी ‘प्रकाश चित्रकार कुशल सङ्गठन सम्मान’बाट पत्रकार चिन्ता परियार सम्मानित हुनुभएको छ । दश हजार राशिको ‘राम शोभी स्मृति पुरस्कार’ पत्रकार सिकेन्द्र पासवानलाई तथा ‘पुतली आमा स्मृति पत्रकारिता पुरस्कार’ सुनसरीका पत्रकार पिबी दियालीलाई प्रदान गरिएको छ ।
सङ्घले पत्रकार चिरञ्जीवी घिमिरे, करण ताम्राकार र अम्बिका परियारलाई जनही रु १५ हजार राशिको ‘पर्शु सवरी पुरस्कार’ प्रदान गरेको छ । यस्तै, जनही रु १५ हजार राशिको ‘टीआर विश्वकर्मा स्मृति पुरस्कार’ पत्रकार जनक सापकोटा, विनोद परियार र रामप्रसाद आचार्यलाई प्रदान गरिएको छ । ‘दिलबहादुर रम्तेल स्मृति पुरस्कार’ पत्रकार कर्ण बिकलाई प्रदान गरिएको सङ्घले जनाएको छ ।
पुरस्कार वितरण गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्राप्त अधिकारको संरक्षण गर्दै आफ्ना अधिकार सुनिश्चित गर्न दलित समुदाय एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
आजदेखि सुरु भएको सङ्घको दोस्रो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।