काठमाडौँ, १९ जेठः रण अम्बिका शाह सेवा गुठीले पाणिनि तपोभूमि व्यवस्थापन, संरक्षण तथा संवर्द्धन समिति, अर्घाखाँचीलाई नगद ‘रण–अम्बिका सेवा पुरस्कार’ प्रदान गरेको छ ।
पाणिनि तपोभूमि व्यवस्थापन, संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष पुष्करराज पोख्रेल र समितिका अन्तरराष्ट्रिय संयोजक नेत्रबन्धु पोख्रेलले उक्त सम्मानपत्र तथा पुरस्कार ग्रहण गर्नुभयो ।
अन्तरराष्ट्रिय संयोजक नेत्रबन्धु पोख्रेलले पाणिनीय ज्ञान, पाणिनि तपोभूमिको ऐतिहासिक महत्व तथा यसको अन्तरराष्ट्रिय प्रचारप्रसारका लागि समितिले गरिरहेको अभियानबारे जानकारी गराउनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रा डा जयराज आचार्यले पाणिनि कृत व्याकरण विश्व भाषाविज्ञानको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै पाणिनि तपोभूमिको संरक्षण र प्रवर्द्धनमा सबै पक्षको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।
गुठीका अध्यक्ष डा योगीले पाणिनि तपोभूमिलाई महत्त्वपूर्ण विद्यातीर्थका रूपमा विकास गर्न सबैको सहकार्य र समभाव आवश्यक रहेकामा जोड दिनुभयो ।
त्यस अवसरमा स्वर्गीय काशीनाथ जोशीलाई मरणोपरान्त सम्मान प्रदान गरिएको थियो । साथै शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र सांस्कृतिक क्षेत्रमा योगदान पुर्याएका विभिन्न संस्था तथा व्यक्तित्वहरूलाई पनि सम्मान र पुरस्कृत गरिएको थियो ।
काठमाडौँस्थित ‘रण–अम्बिका सेवा गुठी समाजसेवी एवं झदानवीर’ रणबहादुर शाह र उनकी धर्मपत्नी अम्बिका शाहले आफ्ना परिवारलाई समेत समेटेर स्थापना गरेको एक परोपकारी संस्था हो ।
---