जेठ २०, २०८३ बुधबार

कास्की, २० जेठः पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के खोलाको खोलाघरभित्रका स्थायी तथा अस्थायी गरी १६० संरचना हटाएको छ । 

यही जेठ १० गतेदेखि महानगरले फिर्केमा अतिक्रमित संरचना हटाउन सुरु गरेको थियो । महानगरले फेवाताल संरक्षणसँग जोडिएको फिर्केखोला सफाइ तथा अतिक्रमण हटाउने अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ । 
 
पोखराको वडा नं १८ को अँधेरीकुनादेखि सुरु भएर वडा नं २, ४, ५, ७, ८ र १७ हुँदै वडा नं ६ गाईघाटमा पुगेर फेवातालमा मिसिने फिर्केखोलाको प्राकृतिक बहाव संरक्षणका लागि अभियान सञ्चालन गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो । 

यसैगरी महानगरले फिर्के खोलाघरका आंशिक रूपमा हटाइएका संरचना सम्बन्धित व्यक्ति तथा संस्थाले तोकिएको समयभित्र आफैँ हटाउन आग्रह गरेको छ ।  खोलाघर सफाइबाट निस्किएका भग्नावशेष व्यवस्थापनका लागि स्स्काभेटर, जेसिबी तथा महानगरीय प्रहरी बल परिचालन गरिएको छ । 

महानगरपालिकाले फिर्केखोलामा सिधै ढल विसर्जन भइरहेको पाइएको भन्दै १० दिनभित्र सेफ्टी ट्याङ्की र सोफिट निर्माण गरी ढल खोलामा फाल्ने कार्य बन्द गर्न चेतावनी दिएको छ । अन्यथा कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने महानगरले जारी गरेको सूचनामा उल्लेख छ । 

यसैगरी महानगरले फिर्केखोला संरक्षणका लागि महानगरले भवन तथा पूर्वाधार निर्माण मापदण्ड–२०८० अनुसार खोलाको मापदण्ड १० मिटरबाट घटाएर छ मिटर कायम गरेकाले उक्त क्षेत्रभित्र कुनै पनि संरचना निर्माण नगर्न नगरवासीलाई आग्रह गरिएको छ ।

“महानगरपालिकाले फिर्केखोला कोरिडोर निर्माण परियोजना र मापदण्डभित्र बनेका संरचनाबारे विस्तृत जानकारी छिट्टै सार्वजनिक गर्नेछ । फिर्केको मापदण्डभित्र कुनै पनि संरचना बनाउने गैरकानुनी हुन्छ”, नगर प्रमुख आचार्यले भन्नुभयो ।

फिर्केखोलामा बढ्दो अतिक्रमण, फोहर तथा ढल मिसिने समस्या नियन्त्रण गर्दै फेवाताल संरक्षण गर्ने लक्ष्यसहित महानगरले फिर्केको खोलाघरका संरचना हटाएको हो । अतिक्रमित संरचना हटाएपछि फिर्केको दायाँबायाँनै फुट ट्रयाक निर्माण गर्ने योजना महानगरको छ ।