असार ६, २०८३ शनिबार

तनहुँ, ६ असारः जिल्लाको व्यास नगरपालिका-१० मा नमूना सहरको परिकल्पनासहित बैरेनी जग्गा विकास आयोजना कार्यक्रम सञ्चालन भइरहेको छ । आयोजनाको पहिलो चरणको काम अन्तिम अवस्थामा पुगेसँगै दोस्रो चरणको बृहत्तर विस्तार प्रक्रिया अघि बढाइएको हो ।

    साविक फराकचौर क्षेत्रका एक हजार ३६० रोपनी क्षेत्रमा आयोजना विस्तार गर्न नगरपालिकाले जग्गाधनी तथा मोहीहरूको रायसुझाव र सहमति सङ्कलन कार्य सुरु गरिरहेको छ । नगरपालिकाले दीर्घकालीन, योजनाबद्ध र आधुनिक सहरी विकासलाई लक्षित गर्दै यो आयोजना अघि बढाएको आयोजना प्रमुख वरिष्ठ इन्जिनियर रवीन्द्रलाल मूलले बताउनुभयो । 

    “बस्तीले साँघुरिँदै गएको सदरमुकाम दमौलीलाई व्यवस्थित सहरी स्वरूपमा रूपान्तरण गर्ने र भविष्यको नमूना सहरका रूपमा विकास गर्ने उद्देश्यसहित काम अघि बढाइएको हो । सुरुआती चरणमा केही चुनौती खेप्नु परेपनि अहिले आयोजना जनस्तरमा स्वीकृत भइसकेको छ”, उहाँले भन्नुभयो, “आधुनिक सहरको स्वरूप देखिन थालेपछि स्थानीयमा उत्साह थपिएको छ । योसँगै दोस्रो चरणको कामको माग पनि बढेको छ ।”

    नगरप्रमुख वैकुण्ठ न्यौपानेले आयोजनालाई नगरपालिकाको दूरदर्शी विकास दृष्टिकोणको प्रमुख आधारका रूपमा अघि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “सदरमुकाम दमौली आसपासको अव्यवस्थित सहरीकरणलाई नियन्त्रण गर्दै योजनाबद्ध, सुरक्षित र आधुनिक सहर निर्माण गर्ने हाम्रो स्पष्ट लक्ष्य हो ।” पहिलो चरणको प्रगतिले जनविश्वास बढाएको छ, त्यसैको आधारमा दोस्रो चरणलाई अघि बढाइएको न्यौपाने बताउनुभयो । 

    दोस्रो चरणको प्रक्रिया स्थानीय बृहत्तर बैरेनी एकीकृत जग्गा विकास परियोजना समितिको माग तथा सहरी विकास तथा भवन निर्माण विभागको प्राविधिक सहयोगमा अघि बढाइएको हो । प्रारम्भिक अध्ययन अरनिको डिजाइनर्स एण्ड प्लानर्स प्रालिले सम्पन्न गरेको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाले आयोजना सञ्चालनका सम्बन्धमा कुनै असहमति वा सुझाव भए सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र जग्गाधनी प्रमाणपत्र र नागरिकताको प्रतिलिपिसहित लिखित निवेदन पेस गर्न सार्वजनिक आह्वान गरेको छ ।

    तोकिएको अवधिभित्र कुनै असहमति नपरेमा आयोजनामा सम्बन्धित पक्षको स्वतः सहमति रहेको मानिने नगरपालिकाले स्पष्ट पारेको छ । पहिलो चरणको आयोजनाको हालसम्म ८५ प्रतिशत सम्पन्न भइसकेको छ । पहिलो चरणको प्रगति र पूर्वाधार विकासपछि स्थानीय जग्गाधनीहरू दोस्रो चरणको आयोजनाप्रति थप उत्साहित देखिएका छन् ।  

    करिब रु नौ करोड २४ लाख ७० हजार लागतमा पहिलो चरणको काम सञ्चालन भइरहेको यस आयोजनामा नगर विकास कोषको ७० प्रतिशत ऋण तथा गण्डकी प्रदेश र व्यास नगरपालिकाको ३० प्रतिशत लगानी रहेको छ । 

    पहिलो चरणअन्तर्गत सडक सञ्जाल, टेवा पर्खाल र ढल निकासको अधिकांश काम सम्पन्न भइसकेको छ भने खानेपानी लाइन विस्तार र ढल नालाको कभर स्ल्याब निर्माण अन्तिम चरणमा पुगेको छ । विद्युत् प्रसारण लाइन विस्तारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको इन्जिनियर मूलले बताउनुभयो ।