सुदूरपश्चिम, १४ असारः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य सर्त भएको बताउनुभएको छ ।
प्रदेश युवा परिषद्ले आज यहाँ धनगढीमा आयोजना गरेको ‘युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम’मा उहाँले विकासका लागि प्रविधिको प्रयोगलाई सँगसँगै उपयोग गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । प्रविधि अनिवार्य सर्त भए पनि सही प्रयोगबारे सबै सचेत हुनुपर्ने उहाँको भनाइ छ ।
“सूचना प्रविधिको वर्तमान युगमा यसको प्रयोगले दैनिकी धेरै सहज हुँदै गएको छ । त्यसैले प्रविधिका नकारात्मक पक्षलाई नियन्त्रण र सकारात्मक पक्षलाई बढावा दिँदै अगाडि बढ्नुपर्छ । विशेष गरी युवालाई यसका नकारात्मक पक्षका बारेमा सचेत गराउँदै सम्भावना पहिल्याउन सहजीकरण गर्नु जरुरी छ”, मुख्यमन्त्री शाहले भन्नुभयो ।
उहाँले सूचना प्रविधिको विकास, बदलिँदो समयको माग तथा आवश्यकता अनुसार युवाशक्तिलाई प्राविधिक रूपमा दक्ष बनाउनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रम गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
“प्रदेश सरकारले समयको मागअनुसार युवा वैज्ञानिकको क्षमता विकासका लागि प्रोत्साहनका विभिन्न कार्यक्रम गरिरहेको छ । यसलाई अझ प्रभावकारी बनाउन सरकार, युवा परिषद् र सरोकारवाला विकास साझेदारबीच सहकार्य आवश्यक छ”, मुख्यमन्त्री शाहले भन्नुभयो ।
प्रदेशका सामाजिक विकास राज्यमन्त्री मधु भारतीले पछिल्लो समय विभिन्न कारणले युवा कुलतमा फसिरहेका भन्दै उनीहरूलाई रचनात्मक काममा लाग्न प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले सूचना प्रविधिको सही प्रयोग गर्न सचेतना बढाउनुपर्ने आवश्यकता औँल्याउँदै यस्ता सिर्जनशील गतिविधिमा प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र साउद, संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)का डा राजकुमार ढुङ्गानालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा विज्ञान, नवप्रवर्तनका क्षेत्रमा योगदान पु¥याएका युवा अरुण लुहार(टीकापुर), ईन्द्रबहादुर ओझा (धनगढी), प्रकाशबहादुर साउद (बाजुरा) र विन्दु पन्त (गोदावरी)लाई सम्मान गरिएको थियो ।